हेटौंडा । हेटौंडा–१ जरुवाटोलमा रिङ रोडसम्मको स्लाब ढलानको शिलान्यास गरिएको छ ।

बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिचाई मन्त्री एकालाल श्रेष्ठले बिहिबार स्लाब ढलानको शिलान्यास गरे । प्रदेश सरकार अन्तर्गतको शहरी विकास तथा भवन कार्यालयको २५ लाख बजेट र स्लाब ढलान निर्माण उपभोक्ता समितिको २ लाख ६७ हजार रकमबाट स्लाब ढलानको निर्माण कार्य सुरु गरिएको हो ।

कार्यक्रममा बोल्नुुहुँदै मन्त्री श्रेष्ठले तरकारी बजारलाई लक्षित गरेर नै स्लाब ढलानको लागि बजेट बिनियोजन गरेको बताए । हेटौंडा उपमहानगरपालिकाको १ नम्बर वडा सुगम र दुर्गम दुबै क्षेत्र रहेको बताउदै मन्त्री श्रेष्ठले भौगौलिक रुपमा विकट क्षेत्रलाई प्राथमिकतामा राखेर खानेपानी, सिचाई, सडकमा सरकारले आवश्यक बजेट छुट्याउने समेत उनले प्रतिबद्धता व्यक्त गरे ।

१ नम्बर वडाको स्थायी बासिन्दा र आफ्नो निर्वाचन क्षेत्र समेत रहेकोले वडाको समग्र विकासमा सबै मन्त्रालयमा योजना र बजेटमा पहल गरिने समेत उनले बताए । मन्त्री श्रेष्ठले निर्धारित समयभित्र निर्माण कार्य सक्न पनि उपभोक्ता समितिलाई निर्देशन दिए ।

उपभोक्ता समितिका अध्यक्ष गोविन्द दाहालले २०८१ असार मसान्त भित्र निर्माण कार्य सक्ने गरी काम थालिएको बताए । २ सय ४४ मिटर लम्बाई रहेको स्लाबको चौडाई ६ मिटर र मोटाई ८ इन्च रहेको अध्यक्ष दाहालले जानकारी दिए ।