Lifestyle, people emotions and casual concept. Relaxed and patient smiling young asian woman with closed eyes meditating to calm down, do breathing exercises with hands in zen gesture.

तनावग्रस्त हुनुभयो भने यसले तपाईंको मन र शरीरलाई हानि पुर्‍याउँछ। तनाव निरन्तर लिने गर्नुभयो भने अनेक रोग लाग्ने जोखिम बढ्छ। त्यसैले तनाव घटाउन यस्तो उपाय अवलम्बन गर्नुस्ः

विश्राम गर्नुस्

काममा कहिलेकाहीँ हामी यति लिप्त भएका हुन्छौँ कि विश्राम गर्न पनि भुल्छौँ। विश्राम कम भयो भने यसले तनाव उत्पन्न गराउँछ।

साथीहरूसँग भेट्नुस्
मनमा कुनै कुरा खेलिरहेको छ अथवा कुनै कुराको चिन्ता छ भने साथीभाइसँग भेटघाट गर्ने गर्नुस्। साथीभाइबीच हाँसखेल चल्छ, जसले तनाव कम गरिदिन्छ। सामान्य बेला पनि फुर्सद निकालेर बेलाबेलामा मिल्ने साथीभाइसँग भेटघाट गर्नु राम्रो हुन्छ।

अनावश्यक विवादबाट टाढा रहनुस्
सरोकार नभएको विवादमा भरसक मुछिनु हुँदैन। यसो गर्दा अनावश्यक तनाव लिनुपर्दैन।

पुरानो कुरा बिर्सिन खोज्नुस्
पुरानो कुनै कुराले तपाईंलाई चिन्तित बनाउने गर्छ भने त्यस्तो कुरा बिर्सिने प्रयास गर्नुस्। यसका लागि वर्तमानका अथवा भविष्यका कुरा सम्झिने गर्नुस्। बिस्तारै यस्तो गर्दै जानुभयो भने तपाईं विगतको धङधङीबाट बिस्तारै बाहिर निस्किँदै र तनावमुक्त हुँदै जानुहुन्छ।

खुलेर हाँस्नुस्
तनाव कम गरी मनलाई प्रसन्न र स्वस्थ राख्न ‘लाफ्टर थेरापी’ गर्ने गरिन्छ। यसका लागि बिनाप्रयोजन बेस्कन हाँस्ने गर्नुस्। सक्नुहुन्छ भने पेट मिचीमिची हाँस्ने गर्नुस्। यसरी हाँस्दा शरीरमा मनलाई प्रसन्न बनाउने हार्मोनको उत्सर्जन बढ्छ, जसले गर्दा तनाव स्वतः कम हुन्छ।

अत्यधिक मदिरापान नगर्नुस्
कुनै कुराले पिर परेको छ अथवा तनाव सिर्जना गराएको छ भने यसलाई भुल्न मदिराको सहयोग लिनेहरू धेरै छन्। तर, बढी मदिरा लिने गर्नुभयो भने यसले तनाव घटाउने होइन, थप बढाउँछ। यसले तपाईंको आर्थिक र पारिवारिक जीवनमा तथा स्वास्थ्यमा पनि असर गर्छ, जसले गर्दा तनाव घट्नुको सट्टा थपिन पुग्छ।

कफी, चिया कम गर्नुस्
कामका बीच तनाव कम गर्ने बहानामा चिया, कफीजस्ता क्याफिनजन्य पेय पदार्थ बढी खाने गर्नुभयो भने यसले तपाईंलाई अझ तनावमा पार्छ। किनकि, यसले तपाईंको शरीरलाई डिहाइड्रेट गरिदिनुको साथै निद्रालाई पनि कम गरिदिन्छ। पानी र निद्रा कम भएको शरीर तनावरहित हुन सक्दैन।

धेरै भावुक नहुनुस्
एउटा भनाइ छ– अतिले खती गर्छ। स–साना कुराले भावुक बनाउने गरेको छ भने तपाईं तनावग्रस्त अवस्थामा पुगिरहनुहुन्छ। यदि, आफू बढी नै भावुक छु जस्तो लाग्यो भने भावुक बनाउने कुराबाट अन्तै मन डुलाउने प्रयास गरेर यसलाई कम गर्न सकिन्छ।

डाक्टरसँग परामर्श लिनुस्
यदि तपाईंलाई बढी नै तनाव हुन्छ र यसले निदाउन नदिने गर्न थालेको छ भने डाक्टरसँग परामर्श लिइहाल्नुपर्छ। डिप्रेसन हुँदा पनि यस्तो अवस्था उत्पन्न हुन सक्छ। डिप्रेसन भएको रहेछ र समयमै औषधि खानुभएन भने तपाईंको मानसिक स्वास्थ्य अझ बिग्रिँदै जान सक्छ।

छदेखि आठ घण्टासम्म सुत्नुस्
जस्तोसुकै व्यस्त हुनुहुन्छ भने पनि पर्याप्त निद्राका लागि समय छुट्याउने गर्नुपर्छ। छदेखि आठ घण्टासम्म दिनहुँ सुत्नुभएन भने तपाईंको मन स्वस्थ रहन सक्दैन। तनावग्रस्त अवस्थामा हुनुहुन्छ भने त अझ निद्राको अवधि पूरा होस् भन्नेमा चनाखो बन्नुपर्छ।

नियमित व्यायाम गर्नुस्
योग, व्यायाम नियमित गर्ने गर्नुभयो भने शरीरमा अक्सिजनको ‘इन्टेक’ बढ्छ। रगतमा अक्सिजनको मात्रा बढ्यो भने यसले तपाईंलाई आलस्य, चिन्ता, तनावबाट मुक्त हुन मद्दत गर्छ।

Visited 11 times, 1 visit(s) today