हेटौंडा । रोटरी क्लब अफ हेटौंडाले हेटौंडा उपमहानगरपालिका–६ रामनगरमा सञ्चालनमा रहेको सिद्धस्थली ग्रामीण सामुदायिक अस्पताललाई ७७ लाखभन्दा बढीको अत्याधुनिक उपकरणहरु सहयोग गरेको छ ।

रोटरी क्लब अफ हेटौंडाले रोटरी इन्टरनेसनलमार्फत ग्लोबल ग्रान्टअन्तर्गत यहाँ आयोजित कार्यक्रममा रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष स्वागत राज प्याकुरेलले हेटौंडा उपमहानगरपालिका–६ का वडाध्यक्ष विष्णु दाहालमार्फत सामुदायिक अस्पताललाई उपकरणहरु हस्तान्तरण गरेका हुन ।

रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष प्याकुरेलले ७७ लाख ५० हजार रुपियाँ बराबरको पाँच थान उपकरण सहयोग गरेको जानकारी दिए । रोटरी क्लबले अस्पताललाई पूर्ण स्वचालित हेमाटोलोजी एनलाइजर, पूर्ण स्वचालित बायोकेमिस्ट्री एनलाइजर, अर्ध स्वचालित इलेक्ट्रोलाइट एनलाइजर, अर्ध स्वचालित यूरिन एनलाइजर र एचएलपिसि एनलाइजर मेसिन प्रदान गरेको छ ।

क्लब अध्यक्ष प्याकुरेलका अनुसार रोटरी वल्र्ड फण्ड र रोटरी क्लब अफ प्लाइम्प्टन तथा रोटरी डिष्ट्रिक्ट ११७५ का फाउण्डेसन चेयर रोटरियन सिमन वुडले रोटरी क्लब अफ हेटौंडामार्फत विपन्न समुदायका नागरिक लाभान्वित हुने गरी ती उपकरणहरु सामुदायिक अस्पताललाई सहयोग गरेको हो ।

रोटरी क्लब अफ हेटौंडाका क्लब अध्यक्ष प्याकुरेलले सामुदायिक अस्पतालमाफएत विपन्न समुदायिक बिरामीहरुलाई गुणस्तरीय सेवा प्रदान गर्न ती उपकरणहरु प्रदान गरिएको बताए । कार्यक्रमामा वडाध्यक्ष दाहालले स्वास्थ्यक्षेत्रमा स्थानीय सरकारले गर्नुपर्ने काम सिद्धस्थली ग्रामीण सामुदायिक अस्पताल र रोटरी क्लब अफ हेटौंडाले गरेको बताए ।

कार्यक्रममा रोटरी क्लब अफ हेटौंडाका निवर्तमान अध्यक्ष सुयसराज पराजुली, पूर्व अध्यक्षहरु ऋषिराम घिमिरे, लेखराज पोखरेल, रामप्रसाद शर्मा, प्रस्तावित अध्यक्ष प्रकाश ढकाल, उपाध्यक्ष प्रमेश प्रधान, रोटरीका संस्थापक सदस्यहरुः माधव अधिकारी, विजयकुमार वैद्य, अस्पतालका सल्लाहकार समितिका संयोजक विष्णुप्रसाद ढुङ्गानालगायतका सहभागिता रहेको थियो ।