हेटौँडा। बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रदेश सभाको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्ताव बाहेक प्रस्तुत गरेका छन ।

मङ्गलबार बसेको प्रदेशसभा बैठकमा विनियोजन विधेयक २०८१ का सिद्धान्त र प्राथमिकता (प्रि बजेट) पेस गर्दै मन्त्री थपलियाले सुशासन कायम गर्ने दायित्व प्रदेश सरकारमा रहेको बताए।

उनले रोजगारी  सिर्जना गर्ने,  प्रभाकारी सेवा प्रवाह गर्ने, सार्वजनिक खर्चलाई पुँजी निर्माण केन्द्रित गर्ने, दिगो विकासका लक्ष्य हासिल गर्ने, साधारण खर्च कटौती गर्ने, पुँजीगत खर्चको प्रभावकारिता बढाउने र विकास आयोजनाहरू तोकिएको समयमा पूरा गर्ने चुनौती हाम्रो सामु रहेको बताए ।

उनले प्रदेशलाई लगानीमैत्री प्रदेशको रूपमा विकास गर्नु अहिलेको आवश्यकता भएको भन्दै प्रदेशवासीको जीवनस्तर उकास्नु अहिलेको अपरिहार्यता भएको बताए।

आर्थिक–सामाजिक रूपमा पछि परेका क्षेत्रको उत्थान गर्ने प्रदेशको मूल नीति हुनुपर्ने भन्दै मन्त्री थपलियाले भने, ‘‘प्रदेशका आर्थिक क्रियाकलापलाई गतिशील बनाएर प्रदेश र मुलुकको समृद्धि गर्नु आवश्यक छ ।’’

उहाँले पुँजी वृद्धिको क्षेत्रमा लगानी गरिने बताउनुभयो । आगामी आवको विनियोजन विधेयकको प्राथमिकातामा भौतिक पूर्वाधार, कृषि, रोजगारी सिर्जना र पर्यटनलाई प्राथमिकता रहेको भन्दै उहाँले प्रदेश सरकारले सार्वजनिक सेवा प्रवाहलाई जनमुखी बनाउने र पूर्वाधार निर्माणमा लगानी वृद्धि गर्ने योजना रहेको सुनाउनुभयो ।

मन्त्री थपलियाले पेस गरेको प्रि बजेटमाथि बुधबार बस्ने प्रदेश सभाको बैठकमा छलफल गरिने भएको छ । यसै अधिवेशनमा अवधिमा प्रि बजेटको छलफलपछि प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेट ल्याइने भएको छ ।

गाेरखापत्रबाट