एउटा चढ्दो ग्रहण लागेको जून
अनि
पहिरोले चिरेको पहाडको छाती जस्तै
अनुहारमा बढेको उदासी
देखेर सोध्यो कसैलेः
किन उदास? किन दीर्घ निश्वास?
प्रिय साथी !
सबै प्रश्न उत्तर बोकी बस्दैनन्
न त कुनै उत्तरको लागि प्रश्न नै पर्खी बस्छन्
बरु प्रश्नका लागि प्रश्नै छ मसँग
त्यो पनि मेरै ईश्वरसँग ।
म डरले हडबडाउँछु किन ?
त्यो ईश्वरको बसाइसराइमा
जो मेरो पूजा लत्याएर
कृत्रिम सुगन्धी धूपमा
कूटील प्रार्थनाहरूमा
अनि मादक सङ्गीतमा
अल्झिन्छ कि भन्ने डरमा?
होइन-होइन,
जबसम्म
बलिरहने छ मेरो हृदयमा
श्रद्धाको तेलले भिजेको सलेदो
अनि धिपधिप गरिरहेको
आस्थाको बत्ती,
मलाई विश्वास छ
सुदामाको कनिकामा कृष्णको प्रेमजस्तै
गोप्य बसाइ सरेको ईश्वर
फर्कने छ उस्तै गोप्यताका साथ
अनि उसैले थप्नेछ
अलिकति तेल
मेरो आस्थाको दीपमा
त्यसबेला
ग्रहण भाग्नेछ आफै मुहारबाट
पहिरो पुरिनेछ आफै हृदयको
अनि बज्नेछ मधुर मधुर
झ्याउँकीरीको सङ्गीत।
मां प्रेम मिरा
थप जानकारी