![](https://mail.anirudrakhabar.com/wp-content/uploads/2024/04/t-1024x683.jpg)
![](https://mail.anirudrakhabar.com/wp-content/uploads/2024/04/t-1024x683.jpg)
हेटौंडा । भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपालले वरिष्ठ गीतकार राजेन्द्र थापा र गायिका निशा देसारलाई सम्मान गरेको छ ।
यस वर्षको १ लाख राशिको बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कारबाट थापा सम्मानित भएका हुन । यस्तै २५ हजार राशिको भीम विराग युवा सङ्गीत पुरस्कार २०७९ बाट देसार सम्मानित भएकी हुन । बिहीबार हेटौंडामा १५ औँ संस्करणको कार्यक्रम गरि थापा र देशारलाई वरिष्ठ साहित्यकार नगेन्द्र थापाले सम्मान प्रदान गरेका हुन् ।
सम्मानपछि गितकार थापाले आफूले देखेको भोगेको समाज, परिस्थितिलाई अक्षरमा उतारेर समाजमा सचेतना दिने गरेको बताए । “म बन्दुक बोकेको मान्छे हुं, तर कलम मेरो प्रिय हो” उनले भने “भीम बिरागलाई सम्झिरहने छु, म उहाँको फ्यान हुं ।”
उनका २ वटा उपन्यास ३ वटा गजल २ वटा मुक्तक १ /१ वटा कविता, कथा र गीती संग्रह प्रकाशित छ । व्यवसायी कन्हैयाकृष्ण श्रेष्ठले वि.सं. २०६४ मा आमा बिजुलीमाया व:न श्रेष्ठको नाममा स्थापित बिजुलीमाया व:न श्रेष्ठ अन्तर्राष्ट्रिय पुरस्कारबाट यसअघि गीत तथा सङ्गीत क्षेत्रका सशक्त व्यक्तित्वहरू अम्बर गुरूङ (२०६४), प्रेमध्वज प्रधान (२०६५), भक्तराज आचार्य (२०६६), फत्तेमान राजभण्डारी (२०६७), शान्ति ठटाल (२०६८), दीप श्रेष्ठ (२०६९), प्रकाश श्रेष्ठ (२०७०), न्हुच्छेबहादुर डङ्गोल (२०७१), मीरा राणा (२०७२), कर्म योञ्जन (२०७३), चेतन कार्की (२०७४), दावा ग्याल्मो (दीपक जंगम) र किरण प्रधान (२०७९) सम्मानित भइसकेका छन् ।
यसैगरी भीम विराग युवा सङ्गीत पुरस्कार २०७७ पोखराको हार्मोनिक समूह र २०७८ गायक शिव परियार प्रदान गरिएको थियो । हरेक वर्ष यो पुरस्कारलाई फरक फरक व्यक्तित्वले प्रायोजन गर्दै आएका छन् । यस पटक चितवनका साहित्यकार एलबी क्षेत्रीले उक्त पुरस्कारको प्रायोजन गरेका हुन । देशार रेडियो नेपालकी ‘क’ श्रेणी गायिका हुन् । २०६६ सालमा राष्ट्रव्यापी आधुनिक गीत सम्मेलनमा प्रथम भएकी थिइन् ।
प्रतिष्ठानले प्रदान गर्ने अन्य सम्मान तथा पुरस्कारहरू तुलसीमाया–शिवकुमारी सिर्जनशील नारी पुरस्कार, भीम–मथुरा बाल प्रतिभा पुरस्कार, कमला–भवानी सङ्गीत पुरस्कार, शीला नारी सङ्गीत पुरस्कार, हर्षनर बज्राचार्य स्मृती स्वर्ण पुरस्कार, विजय बानियाँ स्मृति लोक सङ्गीत पुरस्कार, चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कार, मंगलादेवी श्रेष्ठ स्मृति स्वास्थ्य सेवा पुरस्कार, अजित सेन गुप्ता स्मृति भिन्न क्षमता पुरस्कार रहेको प्रतिष्ठान महासचिव छवि अनित्यले जानकारी दिए ।
२०५९ भाद्र ७ गते स्थापना भएको प्रतिष्ठानले नेपाली सङ्गीत, साहित्य र कला क्षेत्रको उन्नयनमा देश तथा विदेशमा रहेर नेपाली वाङ्मय क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आउनु भएका सर्जक, स्रष्टाहरूलाई सम्मान एवम् पुरस्कृत गर्दै आइरहेको प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्