
हेटौँडा। हेटौँडा–काठमाडौँ सडकखण्डको भीमफेदीका किसानले गाँजर बिक्री गरेर मासिक लाखौँ आम्दानी गर्न सफल भएका छन । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतका किसानले गाजर बिक्री गरेर आम्दानी गरेका हुन । हेटौँडाबाट काठमाडौँ जाने र काठमाडौँबाट हेटौँडा आउने क्रममा मकवानपुरको भीमफेदीस्थित जुरिखेत क्षेत्रमा आधा दर्जन बढी ठाउँबाट गाजर बिक्री हुँदै आएको छ ।
यहाँका किसानले उत्पादन गरेको गाजर यो रुट हुँदै आवत–जावत गर्ने यात्रुले खरिद गर्ने गरेका छन । ७ वर्ष जेसिभी चालकका रूपमा काम गरेका भीमफेदी–६ जुरिखेतका अर्जुन थापा अहिले कृषि कर्ममा लागेका छन । परिवार मिलेर तरकारी तथा गाजर खेती गरेर जुरिखेतमा बिक्री गर्ने गरेका छन ।
यहाँका ४० घरधुरीले व्यावसायिक रूपमै गाजर खेती गर्दै आएका छन । यो रुट हुँदै चल्ने सुमो, मोटरसाइकल, कार, बसलगायतका सवारी साधनमा यात्रा गर्ने यात्रुहरूले यहाँबाट गाजर र तरकारी लैजाने गरेका छन । यहाँ गाजर र गाजरको जुस खाने यात्रुहरूको बाक्लो उपस्थिति रहनेगरेको छ ।
यो सडक सञ्जाल हुँदै सङ्घीय राजधानी जाने यात्रुले स्थानीयस्तरमै उत्पादन भएको तरकारी र गाजर खरिद गर्ने गरेको थापाले बताए । ‘यो क्षेत्रमा ४० घरधुरी छौँ, हामी सबैले गाजर र तरकारी खेती लगाएका छौँ, सबैले आलोपालो गरेर पाँच स्थानको बिक्री केन्द्रमार्फत यहाँको उपज बिक्री गछौँ’ उनले भने ।
थापाले आफ्नो पालोमा महिनामा पाँच दिन तरकारी र गाजर बिक्री गर्ने गरेको बताए । उनले दैनिक ३०० किलो गाजर बिक्री गर्दै आएका छन । उनले गाजर बिक्रेर मात्र साढे तीन लाखको आम्दानी गरेका हुन । बारीको साना–साना पाटा भएकाले यहाँका किसानले गोरुको प्रयोग गरेर खेत जोत्ने गरेका छन ।
जेठ र असारमा यहाँको गाजर काठमाडौँमा बिक्रीका लागि पठाउने गरिएको छ भने अन्य समयमा हेटौँडा–भीमफेदी–काठमाडौँ रुटमा चल्ने सवारीका यात्रुले यहाँको गाजर खरिद गर्ने गरेका छन । गाजरसहित यहाँका किसानले काउली, बन्दा, सेतो मुला, आलु, केराउ उत्पादन गरेर बिक्रीमार्फत आम्दानी लिन सफल भएका छन। गाेरखापत्रबाट
प्रतिक्रिया दिनुहोस्