हेटौँडा । एसिड आक्रमणबाट पीडित बनेकाहरुको कथा समेटेर तयार पारिएको नेपाली चलचित्र ‘नमेटिने घाउ’ को निर्माण टोलीले हेटौँडामा चलचित्रका बारेमा जानकारी गराएको छ ।

शनिबार हेटौँडामा भएको पत्रकार सम्मेलनमा चलचित्रका बारेमा जानकारी गराइएको हो । चलचित्र भदौ ७ गतेदेखि देशव्यापी प्रदर्शन गरिने चलचित्रका निर्माता निर्देशक रमित ढुंगानाले जानकारी दिए । चलचित्रमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, प्रतिनिधि सभाका सांसद ज्ञानेन्द्र शाहीलगायतको अभिनय रहेको जानकारी गराएको छ ।

निर्माता ढुंगानाले आफूले एसिड पीडित मुस्कान खातुनको बायोपिक ‘मुस्कान’ बनाउने तयारी रहेको भएपनि विभिन्न कारणले त्यसलाई स्थगित गरी अन्य धेरै एसिड पीडितलाईसमेत समेटेर ’नमेटिने घाउ’ निर्माण गरेको बताए । ‘सुरुमा मुस्कान खातुनको घटनालाई मात्र लिएर फिल्म बनाउने सोच रहेको उनको भनाई थियो ।

गएको १० वर्षमा ३३ जनामाथि एसिड आक्रमण भएको तथ्य पेश गर्दै रमितले एसिड आक्रमण जघन्य अपराध हो भन्ने सन्देश आफूले चलचित्र मार्फत दिन चाहेको उनले बताए ।

लामो समयदेखि अभियन र चलचित्र निर्माण गर्दै आएका ढुंगानाले यस फिल्मबाट निर्देशनको जिम्मेवारी समेत लिएका छन् । यसअघि उनले ‘माया नमार’ र ‘बुद्ध इज बर्न इन नेपाल’ फिल्मको निर्माण गरेका थिए ।