हेटौँडा । भाइचारा र धार्मिक सहिष्णुता कायम गर्ने उद्देश्यले नेपाल मुस्लिम इत्तेहाद सङ्गठन हेटौँडा नगर कमिटीको आयोजनामा भएको सिक्ससेक्ज क्रिकेट प्रतियोगिताको उपाधि नव बिहानी युवा क्लबले जितेको छ ।

हेटौँडा–४, हुप्रचौरमा विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको अवसरमा बिहीवार आयोजित खसी कप क्रिकेट प्रतियोगिताको उपाधि नव बिहानी युवा क्लबले जितेको हो । इस्लामिया क्रिकेट क्लबलाई ५ रनले पराजित गर्दै नव बिहानीले उपाधिमाथि कब्जा जमाएको हो ।

टस हारेर ब्याटिङ पाएको नव बिहानीले ५ ओभरमा ६८ रनको लक्ष्य दिएकोमा इस्लामिया क्रिकेट क्लबले ५ ओभरमा ६० रनमा सीमित हुन पुग्यो । विजेता नव विहानीले खसी, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको विजेता तथा उपविजेतालाई नेपाल मुस्लिम इत्तेहाद सङ्गठन बागमती प्रदेश अध्यक्ष महमद समीम खान, हेटौँडा–४ का वडा सदस्य जेन श्रेष्ठ, आधुनिक राष्ट्रिय माविका खेल शिक्षक राजाराम पोखरेल, अनेरास्ववियुका केन्द्रीय सदस्य भुवन मैनाली लगायतकाले संयुक्त रुपमा पुरस्कार, प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल मुस्लिम इत्तेहाद सङ्गठन बागमती प्रदेश अध्यक्ष महमद समीम खानले धार्मिक एकता कायम गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताए । उनले खेल खेलाडी र अनुशासन एक अर्काका परिपुरक रहेकाले स्वस्थ हुन र अनुशासनमा रहन खेलको महत्वपूर्ण भूमिका हुने बताए । क्रिकेट प्रतियोगितामा छ वटा टिमले सहभागिता जनाएका थिए ।

कार्यक्रममा संगठन हेटौंडा कमिटीका अध्यक्ष एवम् प्रतियोगिता संयोजक मोहम्मद अन्सारी, अब्दुल्ला देवान, सफिक मियाँ लगायतकाको सहभागिता रहेको थियो । कार्यक्रम साहिल खानले सञ्चालन गरेका थिए ।