हेटौंडा । मकवानपुर जिल्लास्तरीय दोस्रो भेट्रान्स साइकल दौड प्रतियोगितामा हेटौंडा–१७ हटियाका प्रदीप थापाक्षेत्री प्रथम भएका छन् । शनिबार हिमालयन राइडर्स सोसाइटीको आयोजनामा भएको दोस्रो संस्करणको साइकल दौडमा ३१ मिनेट ३४ सेकेण्डमा १५ किलोमिटरको निर्धारित दुरी पूरा गर्दै थापा प्रथम भएका हुन् ।

यस्तै प्रतियोगितामा हेटौंडा–६, चौघडाका दुर्गाप्रसाद लामिछाने द्वितीय भएका छन् । गतवर्ष मेचीमहाकाली साइकलयात्रा गरेका लामिछानेले ३२ मिनेट ५ सेकेन्डमा १५ किलोमिटरको निर्धारित दुरी पूरा गरेका थिए । हेटौँडा–१७ हटियाका हरिशरण थापाक्षेत्री ३२ मिनेट ३९ सेकेण्डमा निर्धारित दुरी पूरा गर्दै तृतीय भएका छन् ।

हेटौंडा–७ का दामोदर ढुंगाना ३३ मिनेट २० सेकेन्ड र सुरज लिम्बुले निर्धारित दुरी ३४ मिनेट १६ सेकेन्डमा पूरा गर्दै सान्त्वना भएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः ३ हजार रुपैयाँ, २ हजार रुपैयाँ, १ हजार ५ सय रुपैयाँ र १ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा ६६ वर्ष उमेरका ज्येष्ठनागरिक चेतनाथ आचार्यलाई प्रोत्साहनस्वरुप १ हजार रुपैयाँ प्रदान गरिएको थियो । प्रतियोगितामा ३० जनाको सहभागिता रहेको थियो ।

सोसाइटीका अध्यक्ष राजु थापामगरको सभाध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन हेटौंडा–४ का वडाअध्यक्ष नबीन सिग्देलले गरेका थिए । कार्यक्रमलाई लक्ष्मी सनराइज बैंक हेटौंडा शाखा, हेटौंडा सिटी कलेज, शिवम् सिमेन्ट लि., बुद्ध मेडिकललगायत संघसंस्थाको सहयोग रहेको सोसाइटीका उपाध्यक्ष बुद्धराम श्रेष्ठले जानकारी दिए ।