हेटौँडा । हेटौँडा–४, हुप्रचौरमा बुधवारदेखि टि–१० क्रिकेट प्रतियोगिता सुरु भएको छ । नेपाल मुस्लिम इत्तेहाद सङ्गठन मकवानपुरको आयोजनामा सुरु भएको प्रतियोगिताको ब्याटिङ गरेर बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले उद्घाटन गरेका हुन ।

प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री महर्जनले खेल अनुशासन र गतिशीलतासँग जोडिएकाले शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले यस्ता प्रतियोगिताले खेल र खेलकुदको विकासमा टेवा पुग्ने बताउँदै नेपालमा फुटबलपछि क्रिकेट धेरैले मन पराएको खेल भएको बताए । उनले परिश्रम र लगनशीलताका साथ खेलाडी लागे प्रदेश सरकारले पनि सहयोग गर्ने बताए । खेलकुद क्षेत्रमा पनि केही गर्न सकिन्छ भन्ने उद्देश्यका साथ आयोजना हुने यस्ता प्रतियोगिताले समग्र खेलक्षेत्रको विकासमा थप मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

मङ्सिर १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १६ टिमले सहभागिता जनाएका छन । बागमती र मधेश प्रदेशबिच भाइचाराको सम्बन्ध स्थापित गर्नका लागि प्रतियोगिता आयोजना गरिएको नेपाल मुस्लिम इत्तेहाद सङ्गठन बागमती प्रदेशका अध्यक्ष समिम खानले बताए ।

नकाउटको आधारमा खेलाइने प्रतियोगिताको विजेताले एक लाख नगद र उप बिजेताले नगद ५० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा वेस्ट ब्याट्स म्यान, बेष्ट बलर, हरेक खेलका प्लेयर अर्फ द म्याच र प्रतियोगिताका उत्कृष्टलाई ट्रफी प्रदान गरिने प्रतियोगिताका सह संयोजक प्रमोद मानन्धरले जानकारी दिए ।

प्रतियोगिता उद्घाटन कार्यक्रममा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल, काँग्रेस मकवानपुरका सभापति बुद्ध लामा, माओवादी केन्द्रका प्रल्हाद लामिछाने, नेपाल मुस्लिम इत्तेहाद सङ्गठन मकवानपुरका इच्जार्ज मोहमद सफिक, हासिम शेख लगायतकाको सहभागिता रहेको थियो ।

Visited 77 times, 1 visit(s) today