
हेटाैँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– ३ सिस्नेरीमा गत १२ असोजमा पहिरोमा परी ज्यान गुमाएका हेटौँडा– १२ का बालखेलाडी अनुमप घलानको स्मृतिमा हेटौँडामा फुटबल प्रतियोगिता हुने भएको छ ।
यही ७ फागुनबाट हुने १६ वर्षमुनिको प्रथम अनुपम घलान स्मृति फुटबल प्रतियोगिताको आयोजना हेटौँडा उपमहानगरपालिकाले गर्ने भएको हो ।
नगर खेलकुद विकास समितिको व्यवस्थापनमा हुने प्रतियोगिता हेटौँडा– ५ स्थित क्याम्पा रंगशालामा हुनेछ । उपमहानगरपालिकाको १९ वटै वडाका खेलाडीहरूले भाग लिन सक्ने प्रतियोगिताको विजेताले नगद एक लाख रुपैयाँका साथै सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने नगर खेलकुद विकास समिति अध्यक्ष रवीन्द्र घिमिरेले जानकारी दिए ।
यस्तै, प्रतियोगितामा दोस्रो हु्ने टिमले नगद ७० हजार प्राप्त गर्नेछ भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट फरवार्ड, उत्कृष्ट किपर, उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट डिफेन्सलाई जनही पाँच हजार रुपैयाँ विधागत पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा हेटौँडा उपमहानगरभित्रका वडाबाट सिफारिस भई आएका टिमको सहभागिता रहने बताइएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाद्वारा सञ्चालित सिस्नेरीस्थित वत्सलादेवी माविको प्रशिक्षण केन्द्रमा फुटबल प्रशिक्षण लिइरहेका हेटौँडा– १२ का घलानसहित ६ जनाको मृत्यु भएको थियो । उक्त घटनमा परी मकवानपुरगढी गाउँपालिकाका साइमन योञ्जन, इन्द्रसरोवरका दिवस बानियाँ, बारा निजगढका विकल रेग्मी, धादिङका रियान्स आचार्य र सर्लाहीका आदित्य बलम्पाकीको ज्यान गएको थियो ।
प्रतियोगिता सञ्चालनका लागि हेटौँडा उपमहानगरपालिकाले यस आर्थिक वर्षमा सात लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी वर्षहरूमा समेत प्रतियोगितालाई निरन्तरता दिइने नगर खेलकुद विकास समितिका अध्यक्ष घिमिरेले बताए ।
प्रतिक्रिया दिनुहोस्