हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले भीमफेदी क्षेत्रीय कारागारमा रहेका कैदीबन्दीलाई दसैं मनाउन खसीका साथै खाद्यान्न र अत्यावश्यक सामाग्री सहयोग गरेको छ । बुधबार गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष वनस्तम थिङलगायतले कारागारमा पुगी खसी, चिउरा , तेल र सरसफाईका विविध सामाग्री हस्तान्तरण गरेका हुन् ।

गाउँपालिकाले विगतका वर्षहरुदेखि नै कारागारका कैदीबन्दीलाई हरेक वर्ष दसैंमा खसी र खाद्यान्न सहयोग गर्ने गरेको छ । गाउँपालिकाले एउटा खसी, तीन बोरा चिउरा, सरसफाईका सामाग्रीमा डस्बिन, कुचो, हर्पिकलगायत सहयोग गरेको थियो भने । मनहरीका तीन सामुदायिक वन समूहका तर्फबाट अर्को थप एक खसी पनि प्रदान गरिएको थियो । सामुदायिक वनका प्रतिनिधि एवम् मनहरी ७ का वडाध्यक्ष ठाकुरराम तितुङसहितले खसी हस्तान्तरण गरेका हुन् ।

कैदीबन्दी जीवन बिताइरहेका आफ्ना गाउँपालिकाका बासिन्दाका साथ कारागारमा बस्ने सबैले खुसीयाली साथ चाडपर्व मनाउन पाउन् भन्ने उद्देश्यले आफूहरुले हरेक वर्षको दसैंमा खाद्यान्न, खसीलगायत सहयोग गर्ने गरेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए । आफूहरुले सहयोगको सुरुवात गरेपछि अन्य पालिकाहरुबाट पनि कारागारमा सहयोग आउन थालेको अध्यक्ष मल्लले बताए ।
कारागारमा दसैंको लागि खसी र खाद्यान्न जुट्ने क्रममा रहेको छ । मंगलबार कैलाश गाउँपालिकाले खसी, चामललगायत वितरण गरेको थियो भने बुधबार नै मकवानपुरगढी गाउँपालिकाबाट पनि खसी र खाद्यान्न प्रदान गरिएको थियो ।

दुई वटा पुरुष ब्लक र एउटा महिला ब्लक रहेको कारागारमा एक हजार ४४ पुरुष, ४८ महिला कैदीबन्दी र एक जना आश्रित नाबालक छन् । जसमध्ये मकवानपुर स्थायी निवासी २ सय ५८ र त्यसमध्ये राक्सिराङ गाउँपालिकाका २९ र कैलाश गाउँपालिकाका १२ जना रहेको कारागार प्रशासनले बताएको छ ।

Visited 38 times, 1 visit(s) today