हेटौँडा । अल्पसङ्ख्यक चेपाङ र आदिवासी समुदायको बाहुल्यता रहेको मकवानपुरको राक्सिराङ गाउँपालिका क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दा स्थानीय तहसँग समन्वय गर्न आग्रह गरिएको छ । अनधिकृत व्यक्ति, सङ्घ, संस्थाका गतिविधि रोक्न गाउँपालिकाले सूचना जारी गरेर समन्वय गरेर मात्रै गतिविधि सञ्चालन गर्न आग्रह गरेको हो ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २५ अनुसार गैरसरकारी सङ्घ संस्था, उपभोक्ता समिति, सहकारी संस्था लगायतका सामाजिक तथा सामुदायिक सङ्घ संस्थाले स्थानीय तहसँगको समन्वयमा रही कार्य गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।
कानुनी व्यवस्थाको उल्लङ्घन हुने गरी नियामनकारी निकायको रुपमा रहेका जिल्ला प्रशासन कार्यालय र स्थानीय तहसँगको समन्वय विना नै विभिन्न अनधिकृत व्यक्ति, संस्थाहरू मार्फत राक्सिराङ गाउँपालिकाभित्रका विभिन्न स्थानहरू विपन्न जातजाति, भाषाभाषी, धार्मिक समुदायको नाममा खाद्य पदार्थ, लत्ता कपडा वितरण गर्ने, चन्दा सहयोग गर्ने, स्वास्थ्य शिविरहरू सञ्चालन गर्ने, विभिन्न सामाजिक तथा आर्थिक गतिविधिहरू सञ्चालन हुने गरेको भन्दै गाउँपालिकाले समन्वय गरेर मात्रै गतिविधि गर्न आग्रह गरेको हो ।
अवैधानिक गतिविधिहरूका कारणले सिर्जना हुन सक्ने प्रतिकुल परिस्थितिहरू, समुदायको परनिर्भरता बढ्ने, लाभग्राही छनौटमा पारदर्शिता नहुने, सञ्चालक व्यक्ति वा संस्था जवाफदेही नहुने जस्ता अवस्थालाई मध्यनजर गर्दै त्यस्ता गतिविधिहरू निरुत्साहित गर्न गाउँपालिका लागिरहेको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए । उनले गाउँपालिकासँगको समन्वय र स्वीकृतिबेगर गतिविधिहरू सञ्चालन हुन नदिन सम्पूर्ण वडा कार्यालयहरू, स्वास्थ्य संस्थाहरू, विद्यालयहरू, जनप्रतिनिधिहरू, नगर प्रहरी इकाई र सरोकारवालालाई अपिल गरेको जानकारी दिए ।
गाउँपालिकाभित्र बसोवास गरिरहेका अति सीमान्तकृत, विपन्न समुदाय, असहाय बालबालिका, बेसहारा अशक्त वृद्धवृद्धा, एकल महिला, अपाङ्गता भएका व्यक्ति, आर्थिक, सामाजिक रूपले पिछडिएका समुदाय, विपद्को कारणले धन जनको क्षति व्यहोरेका परिवारहरू लगायत जोखिममा रहेका समुदायको जीवनस्तर उत्थानमा गाउँपालिका सदैव तत्पर रहेको पनि उनले स्पष्ट पारे । उनले पालिकासँग सहकार्य गर्न इच्छुक व्यक्ति वा संस्थाले स्वीकृति लिई एकद्वार प्रणालीबाट आफ्ना गतिविधिहरू सञ्चालन गर्न आह्वान गरे ।
९ वटा वडा रहेको यस पालिकामा राष्ट्रिय जनगणना, २०७८ अनुसार २५ हजार ९९६ जनसङ्ख्या रहेको छ । २२६.७ वर्ग किमिमा फैलिएको पालिकामा ४६.२५ प्रतिशत तामाङ, ४३.९६ प्रतिशत चेपाङ, २.७५ प्रतिशत क्षेत्री, २.३८ प्रतिशत दलित, १.५० प्रतिशत मगर, ०.५६ प्रतिशत, नेवार र ०.०६ प्रतिशत ब्राम्हण जातजाति बसोबास गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्