
हेटाैँडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाको सबै वडा विद्युतको पहुँचमा पुगेका छन्। सोमबार एक कार्यक्रमका बिच चेपाङ बाहुल्य विकट गाउँ राक्सिराङका ९ वटै वडामा नेपाल विद्युत् प्राधिकरणले विद्युतको पहुँच पुर्याइएको हो।
गाउँपालिकाको पहलमा प्राधिकरणले ‘चेपाङ बिजुली कार्यक्रम’अन्तर्गत विद्युत् सेवा पुर्याइएको हो। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सोमबार एक समारोहबिच राक्सिराङ गाउँपालिका–९, खैराङबाट राक्सिराङलाई पूर्ण विद्युतीकरण वडा घोषणा गरेका हुन्। उनले राक्सिराङ–९ खैराङकी टुलकुमारी प्रजाको घरको विद्युतको मिटर पनि ‘अन’ गरेर पूर्ण विद्युतीकरण वडा घोषणा गरेका हुन्।
टुकी र दियालोको उज्यालोमा जीवन व्यतीत गर्दै आएका खैराङलगायत राक्सिराङका दुर्गम बस्तीका ९ वटै वडाका चेपाङलगायत अन्य समुदायको घरमा विद्युत् सेवा पुगेको हो। मकवानपुरकै दुर्गम खैराङमा ०७६/७७ देखि नै चेपाङलाई बिजुली कार्यक्रम अघि बढाइएको थियो।
गाउँपालिकाले आफ्नै स्रोतमा सञ्चालन गर्दै आएको विद्युतीकरणको कामलाई प्राधिकरणले चेपाङलाई बिजुली कार्यक्रममार्फत सम्पन्न गरेको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए। उनका अनुसार सुरुवातमा गाउँपालिकाले एक करोड रुपैयाँ र पछि प्रदेश सरकारले एक करोड रुपैयाँ थप गरी प्राधिकरणको सहयोगमा ६ करोड रुपैयाँले वडाहरूमा बत्ती पुर्याउन विद्युत् पोल गाड्ने र तार तान्ने काम गरिरहेको थियो।
सोपश्चात् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले चेपाङलाई विद्युत् कार्यक्रममार्फत ३० करोड रुपैयाँमार्फत अभियानलाई अघि बढाएको उनको भनाइ छ। उक्त कार्यक्रममार्फत सबै वडामा विद्युतको पहुँच पुगे पनि अझै सबै नागरिकको पहुँचमा विद्युत् सेवा पुर्याउन बाँकी रहेको उनले बताए।
उक्त अभियानअन्तर्गत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले ३३० वटा विद्युत् मिटर राक्सिराङमा विभिन्न वडाका विपन्न चेपाङलाई निःशुल्क वितरण गरेका थिए। ०७८ को जनगणनाअनुसार २५ हजार ९९६ जनसंख्या रहेको उक्त पालिकामा ५ हजार ४४ घरधुरी छन्।
कार्यक्रममा दुर्गम पालिकाको घरघरमा विद्युतीकरण गर्न सहयोग पुर्याउने घिसिङलाई गाउँपालिकाले सम्मानसमेत गरेको थियो भने उक्त कार्यमा सघाउ पुर्याउने व्यक्तिलाई समेत सम्मान गरिएको थियो।
प्राधिकरण उज्यालो पार्ने संस्थाको रूपमा विकास भइरहेको छः घिसिङ
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्राधिकारण बत्ती काट्नेभन्दा उज्यालो पार्ने संस्थाको रूपमा विकास भइरहेको बताए। नेपालको विद्युतले विदेशमा समेत उज्यालो पार्ने काम भइरहेको उनले बताए।
लोडसेडिङ अन्त्यसँगै विद्युत् निर्यात गर्ने काम भइरहेको बताए। हाल आयातको तुलनमा निर्यातको दर वृद्धि भइरहेको उनको भनाइ छ। उनले देशमा विद्युत् सेवा नपुगेको ठाउँ प्राधिकरणले खोजी गरिरहेका बताए। हरेक नागरिकको पहुँचमा विद्युत् सेवा पुर्याउन करोडौँ खर्च गर्न तयार रहेको उनले बताए। प्राधिकरणले तत्कालीन समयमा लोडसेडिङ अन्त्यभन्दा पनि विद्युतको पहुँच पुर्याउन महत्त्वपूर्ण दायित्वको रूपमा लिएर काम गरिरहेको उनको भनाइ छ।
सरकारको दायित्व पूरा गर्न आफूले प्राधिकरणमार्फत नेतृत्व लिएको उनले बताए। उनका अनुसार २०७३ मा आफूले प्राधिकरणको नेतृत्व लिँदा ५८ प्रतिशत नागरिक विद्युतको पहुँच पुगेको र हाल ९९ प्रतिशत नागरिकमा ९९ प्रतिशत नागरिकमा विद्युतको पहुँच पुगेको उनले दाबी गरे।
उनले राक्सिराङको सबै नागरिकको घरमा वर्षायामअघि नै विद्युत् पुर्याउन मातहतका कार्यालयलाई निर्देशनसमेत दिए। बजेट तथा अन्य आवश्यक व्यवस्थापन गर्न प्राधिकरण तयार रहेको र हाल नपुगेका स्थानमा विद्युतीकरण गर्न ८ करोड रुपैयाँमा ठेक्का लागेको र काम सुरु गरी सम्पन्न गर्न पनि उनले आग्रह गरे। गरिबलाई निःशुल्क मिटर वितरण गर्ने तथा न्यूनतम महसुल तिर्न परेको समस्या हल गर्न प्राधिकरणले पहल गर्ने उनले बताए। कार्यकारी निर्देशक घिसिङका अनुसार गरिब विपन्नका साथै सिँचाइ, खानेपानीका आयोजनालाई पनि विद्युत् महसुलमा सहुलियत दिइएको छ। नयाँ पत्रिकाबाट
प्रतिक्रिया दिनुहोस्