हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले देशमा उद्योग व्यवसाय खोल्न नसक्दा विदेशीनु परेको बताएका छन । “जनतासँग माओवादी विशेष रूपान्तरण अभियान“ अन्र्तगत नगरस्तरीय स्कुलिङ कार्यक्रममा प्रशिक्षण दिर्दै निर्वाहमुखी मात्रै खेतीपाति भएको बताउँदै उनले विदेशमा सिकेको सीपलाई स्वदेशमा प्रयोग गर्दै कृषिबाट उद्योगमा स्थान्तरण हुनुपर्नेमा जोड दिए ।

समाजवादी क्रान्ति आवश्यक रहेको जिकिर गर्दै उनले समाजवादी क्रान्तिलाइ बोक्ने पार्टीको आवश्यकता रहेको औल्याए । नसक्ने वर्गलाई सक्ने बनाउनु सरकारको दायित्व रहेको उनको भनाई छ ।

प्रशिक्षण कार्यक्रममा उपमहासचिव अनन्तले कम्युनिष्ट आन्दोलनको इतिहास र कार्यदिशा, माओवादी केन्द्रका केन्दीय सदस्य एवं बागमती प्रदेश सरकारका मुख्यमन्त्रीको राजनीतिक सल्लाहकार डिपी ढकालले राजनीतिक अर्थशास्त्र, केन्द्रीय सदस्य एवं विद्यार्थी नेता लेखनाथ न्यौपानेले वैज्ञानीक समाजवाद बारे प्रशिक्षण दिएको नेकपा (माओवादी केन्द्र) हेटौंडा उपमहानगर समिति अध्यक्ष तिर्थ बहादुर थापाले जानकारी दिए ।

नेकपा (माओवादी केन्द्र) हेटौँडा उपमहानगरपालिका समितिको आयोजनामा भएको नगरस्तरीय स्कुलिङ कार्यक्रममा नगर भित्रको जिल्ला समितिको सदस्य, नगर पार्टीको सम्पूर्ण पदाधिकारी तथा सदस्य, नगरको सम्पूर्ण सल्लाहकार, वडा समितिको पदाधिकारी सहित वडा सदस्य, जवस÷ मोर्चाको पदाधिकारीहरुको सहभागिता रहेको थियो ।