
हेटौँडा । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले प्रदेश सरकार सुशासन कायम गर्न प्रतिबद्ध रहेको बताएका छन । सेवा प्रवाह तथा सुशासनसँग सम्बन्धित कानुनको अन्तरक्रिया कार्यक्रमलाई बुधबार हेटौँडामा सम्बोधन गर्दै उनले सुशासन कायम गर्नसके मात्रै देशमा समृद्धि आउने बताए।
प्रदेश सरकारले सुशासन कायम गर्न आवश्यक कानुन निर्माण गरिरहेको जानकारी दिँदै प्रदेश सरकार नयाँ संरचना भएकोले बिस्तारै काम भइरहेको बताए । “प्रदेश सरकार स्थापना भएको सातौं वर्ष भयो, प्रदेश सरकार अहिले बच्चा नै छ, नागरिकलाई सेवा प्रवाह गर्न र सुशासन कायम गर्न लागिरहेका छौँ”, मन्त्री श्रेष्ठले भने ।
प्रदेशको सबलीकरण गर्न प्रदेश सरकार लागिरहेको बताउँदै आवश्यक कानुन बनाउन, बनेका ऐन कानुन परिमार्जन र आवश्यक ऐन कानुन निर्माणमा लागिरहेको जानकारी दिए । प्रदेश सरकारले भौतिक पूर्वाधार विकासमा लागिरहे पनि कानुन निर्माणलाई प्राथमिकता दिएको बताए । आम नागरिकलाई सेवा प्रवाह र सुशासन कायम गर्न प्रदेश सरकार निरन्तर लागिपरेको उनको भनाइ छ ।
सबै जिम्मेवार र जवाफदेही हुनुपर्नेमा जोड दिदै सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्ति भएपछि बनेका तीन तहका सरकार सुशासन कायम गर्न लाग्नुपर्नेमा जोड दिए ।
“सही सूचना प्रवाह गर्नुपर्छ, सञ्चारकर्मीले सहीलाई सही र गलतलाई गलत भनेर बाहिर ल्याउन सकिए मात्रै लोकतन्त्र बलियो हुन्छ”, मन्त्री श्रेष्ठले भने । लोकतन्त्र बलियो भएमात्र पत्रकार र सञ्चार माध्यम शक्तिशाली हुने उनको भनाइ छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीको सभाध्यक्षतामा भएको कार्यक्रममा मन्त्रालय कानुन महाशाखा प्रमुख मनुका घिमिरेले विधि, कानुन निर्माण प्रक्रिया र सेवा प्रवाह र सुशासनमा सञ्चार माध्याम र सञ्चारकर्मीको भूमिका विषयमा पत्रकार सुरेश श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्