हेटाैँडा । कांग्रेसले बागमती प्रदेश सरकारको नेतृत्वमा बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामालाई पठाउने सर्वसम्मत निर्णय गरेको छ।

आइतबार बिहान बागती प्रदेश संसदीय दलको बैठकले नेता लामाकै नेतृत्वमा प्रदेश सरकार गठन गर्ने निर्णय भएको कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक गोविन्द लम्सालले जानकारी दिए ।

‘आज बिहान बसेको बैठकले दलका नेता बहादुरसिंह लामा कै नेतृत्वमा प्रदेश सरकार गठन प्रक्रियाअगाडि बढाउने निर्णय भएको छ,’ उनले भने।

प्रमुख सचेतक लम्सालले आज दिउँसो बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पेश गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय भएको पनि जानकारी दिए।

कांग्रेस संसदीय दलको बैठकमा मुख्यमन्त्रीका दावेदार मानिएका कांग्रेस बागमती प्रदेशका सभापतिसमेत रहेका दलका पूर्वनेता इन्द्रबहादुर बानियाँले अहिलेको अवस्थामा अन्य पार्टीसँगसमेत सहमति र सहकार्य गरेर जानुपर्ने अवस्था सिर्जना भएका वेला पार्टीभित्र पूर्ण एकताको सन्देश दिन दलका नेताकै नेतृत्वमा सरकार निर्माण गर्नु उपयुक्त हुने धारणा राखेका थिए।

बैठकमा बानियाँले अहिले जनतामा चरम निराशा उत्पन्न भएको, जनताका विकास र सुशासनको चाहना पूरा हुन नसकेको अवस्थामा कांग्रेस संसदीय दलले एकढिक्का भएर सरकारको नेतृत्व गर्दै जनअपेक्षा पूरा गर्नेतर्फ क्रियाशील हुनुपर्ने आवश्यकता रहेको बताएका थिए।

प्रदेश सभाको पहिलो कार्यकालमा संसदीय दलको नेता रहेका बानियाँले कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच गठबन्धन भई सरकार निर्माण हुँदा पनि एकीकृत समाजवादीका लागि मुख्यमन्त्री दिएर त्याग गरेका थिए।

पार्टी र प्रदेश सभामा प्रभावशाली नेतृत्व गर्दै आएका कारण बानियाँलाई यसपटक बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीको रूपमा हेरिएको थियो। तर, यसपटक पनि पार्टीलाई एकढिक्का बनाई राख्न उनले यसपटक पनि त्याग गरेको र दलको बैठकले यसपटक सर्वसम्मत रूपमा लामालाई मुख्यमन्त्रीमा पठाउने निर्णय गरेको नेताहरूले बताएका छन्।