हेटौंडा । नेपाली कांग्रेसको स्थानीय तह समन्वय केन्द्रीय विभागले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुको भेला गर्ने भएको छ । विभागले स्थानीय तहका जनप्रतिनिधि र उम्मेदवारहरुसँग अन्तरसंवाद गर्ने कार्यक्रम मकवानपुरबाट सुरु गर्ने भएको हो ।

विभागको आयोजनामा मकवानपुरमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको भेला आगामी भदौ ३० गतेलाई तय गरिएको जिल्ला पार्टीले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको प्रमुख उपस्थितिमा हुने भेलामा स्थानीय तहमा निर्वाचित भएको साढे २ वर्षमा गरेका कामहरु, चुनौती, घोषणापत्रको कार्यान्वयनको अवस्थाको बारेमा जनप्रतिनिधिबीच अन्तरक्रिया गरिने नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले जानकारी दिए । भेलाकैबीच स्थानीय तहका जनप्रतिनिधि र प्रदेश र केन्द्रसँगको समन्वय, जनप्रतिनिधि र पार्टीबीचको समन्वयको विषयमा पनि बहस हुने लामाले बताए ।

जनप्रतिनिधिबीच हुने गरेको बेमेलको विषयमा पनि भेलामा छलफल गरी आगामी योजना बनाइने बताइएको छ । संविधान संशोधनमा उल्लेख गर्नुपर्ने विषयहरुको बारेमा पनि विभागले स्थानीय तहका जनप्रतिनिधिहरुबाट सुझाव लिने कांग्रेसले जनाएको छ । मकवानपुरबाट सुरु हुने भेला देशभर हुने जनाइएको छ ।

२०७९ को निर्वाचनमा नेपाली कांग्रेसबाट मकवानपुरमा ५ वटा स्थानीय तहमा प्रमुख, ४ वटामा उपप्रमुख र ४४ जना वडाध्यक्षमा निर्वाचित भएका छन् । त्यस्तै १ सय ४७ जना सदस्य छन् भने जिल्ला समन्वय समितिमा ५ जना र गाउँ/नगर कार्यपालिकामा २० जनाले प्रतिनिधित्व गरिरहेका छन् । निर्वाचित जनप्रतिनिधिका साथै भेलामा निर्वाचनमा भाग लिएका उम्मेदवारहरुसमेत सहभागी हुने पार्टी सभापति लामाले बताए ।