हेटाैँडा । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुरका दुईवटै निर्वाचन क्षेत्रबाट १५ जना स्वतन्त्रसहित ४४ जनाले मनोनयन दर्ता गरेका छन्। क्षेत्र नम्बर १ बाट २३ जना र क्षेत्र नम्बर २ बाट २१ जनाले उम्मेदवारी दर्ता गराएका हुन्।
मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठका अनुसार मकवानपुर–१ बाट १३ जनाले विभिन्न राजनीतिक दलका तर्फबाट र १० जनाले स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गरेका छन्। यस क्षेत्रमा कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’, नेकपाका विजय गौतम, एमालेका रामेश्वर राना, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का तेजप्रसाद उप्रेती उम्मेदवार बनेका छन् ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपकबहादुर सिंह, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रकाश गौतम, जनता समाजवादी पार्टी (जसपा) का दीपक सिन्तान, नेकपा माओवादीका महेश नेपाली, मंगोल नेसनल अर्गनाइजेसनका युवराज लामा, नेमकिपाकी रञ्जना सुवाल मगजु, जसपा नेपालका रूपक लामा, श्रम संस्कृति पार्टीकी विद्या श्रेष्ठ महर्जन र उज्यालो नेपाल पार्टीका सुरेन्द्र लामाले पनि उम्मेदवारी दर्ता गराएका छन्।
मकवानपुर–१ मा स्वतन्त्र उम्मेदवारका रूपमा अमर दंगाल, अमिक परियार, टीकाप्रसाद चौलागाईं, प्रमिलाकुमारी खतिवडा, मिठुकुमारी मगर, राकेशकुमार शर्मा, रामकुमार खड्का, राजाराम बोगटी, सुशीला सुवेदी र ज्ञानसागर लामाले मनोनयन दर्ता गरेका छन्।
निर्वाचन क्षेत्र नम्बर–२ बाट विभिन्न दलका १६ र स्वतन्त्र ५ गरी २१ जनाले उम्मेदवारी दिएका छन्। सो क्षेत्रमा नेकपाका लवशेर विष्ट, कांग्रेसका बुद्ध लामा, एमालेका महेश बर्तौला र प्रलोपाका सन्तोष विष्टले मनोनयन दर्ता गरेका छन्।
यसैगरी, श्रम संस्कृति पार्टीका युनिश लामा, उज्यालो नेपाली पार्टीका प्रविनकुमार स्याङ्तान, रास्वपाका प्रशान्त उप्रेती, मंगोल नेसनल अर्गनाइजेसनका हिरालाल स्याङ्तान, नेसनल रिपब्लिक नेपालका सूर्य तामाङ बल, आम जनता पार्टीका सूर्य राई, नेमकिपाका सरोज तामाङ, संयुक्त नागरिक पार्टीका शुभराज प्रजा, नेकपा माओवादीका राम घलान, राप्रपाका रामबहादुर थोकर, जसपाका छविलाल बाइवा र जनमोर्चाका निरबहादुर सिन्तान उम्मेदवार बनेका छन्।
मकवानपुर–२ मा स्वतन्त्र उम्मेदवारका रूपमा अमृत बल, कृष्णराम श्रेष्ठ, प्रतीक्षा बानियाँ, रमेश आचार्य र सीतामाया बलले मनोनयन दर्ता गराएका छन्। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको कार्यतालिकाअनुसार बुधबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ता प्रक्रिया सञ्चालन गरिएको थियो।












प्रतिक्रिया दिनुहोस्