हेटौंडा । निर्वाचन आयोग र नेपाल कानुन समाजको आयोजनामा हेटौंडामा निर्वाचन आचार संहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरुको भूमिकामा विषयक अन्तरक्रिया भएको छ ।

निर्वाचन आयोगका सह–सचिव यज्ञप्रसाद भट्टराईले कार्यक्रमको पहिलो सत्रमा निर्वाचन आचार संहिताका प्रमुख विषयहरु र सरोकारवालाहरुको भूमिको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा गण्डकी प्रदेशका पूर्व मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले स्थानीय सरकार निर्वाचनको खर्च र प्रचारप्रसारका विषयमा कुन पदका उम्मेदवारले कति खर्च गर्ने भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रमको उद्देश्यबारे नागरिक संवाद केन्द्र बागमती प्रदेशका प्रमुख रघु खरालले जानकारी गरेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव सुर्य प्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला अदालतका मुख्य न्यायाधिस डिल्लीरत्न श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, प्रहरी प्रमुख सुरेन्द्र बहादुर गुरुङ, सशस्त्रका एसपी नेत्रबहादुर कार्की लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा मकवानपुरका विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, अधिवक्ता, मानव अधिकारकर्मी, निर्वाचित जनप्रतिनिधि, संचारकर्मी लगायतकाको सहभागिता रहेको थियो ।