हेटौंडा । चितवन राष्ट्रिय निकुञ्जले गत आइतबार चितवनको माडी नगरपालिका वडा नम्बर ९ स्थित कुसुम खोलामा बसोबास गर्दै आएका चेपाङ समुदायको घर भत्काउने तथा आगजनीप्रति बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले वन तथा वातावरण मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।

राज्यमन्त्री प्रजाले मंगलबार वन तथा वातावरण मन्त्रालयलाई ध्यानाकर्षण पत्र पठाउँदै सुकुम्बासी चेपाङको घर भत्काउने तथा आगजनी गरी घरबारबिहिन बनाउनु निन्दनीय भएको बताएका हुन् । स्थानीय प्रशासन, प्रदेश र संघीय निकायसँग राय नलिई सरोकारवाला संघ संस्थाबीच छलफलसमेत नगरी मानव बस्तीमा गएर घर भत्काएर निकुञ्जले अमानवीय कार्य गरेको राज्यमन्त्री प्रजाले ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन् ।

ुनेपालको संविधान २०७२ मा व्यबस्था भएको मानव स्वतन्त्रता, मौलिक हक, आदिबासी, जनजातिको आत्मनिर्णयको अधिकार, जल, जंगल, जमिनमाथि आदिवासीको अधिकार हनन् गर्दै निकुञ्ज प्रशासनले ज्याजति गरेको छ । सो विषयमा सरोकारवालाहरुबीच छलफल गरी घरबारबिहीनलाई तत्कालै आवासको व्यवस्था मिलाउन मन्त्रालयको ध्यानाकर्षण गराउँदछौं ।ु मन्त्रालयलाई लेखेको ध्यानाकर्षण पत्रमा भनिएको छ । नागरिकको मौलिक हक हनन् हुने गरी कार्य गर्नेहरुमाथि आवश्यक छानविन गरी कारबाही तथा पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउनसमेत माग गरिएको छ ।

त्यस स्थानमा बसोबास गर्ने नागरिकहरुमाथि पटकपटक अन्याय भइरहेको भन्दै सरकार र निकुञ्जबीच समस्याको समाधानको लागि गम्भीरतापूर्वक छलफल सुझाव दिइएको छ । निकुञ्जले घर भत्काइदिँदा १७ घरधुरी चेपाङ समुदाय घरबारबिहीन भएको भन्दै उनीहरुलाई तत्काल बसोबासको व्यवस्था गरिदिन आग्रह गरिएको छ । घटनाप्रति दुःख व्यक्त गर्दै राज्यमन्त्री प्रजाले बस्तीमा आगजनीको घटनाप्रति अत्यन्त दुःख व्यक्त गर्दै राज्यमन्त्री प्रजाले पीडित नागरिकलाई सान्त्वना दिई आवश्यक व्यवस्था गर्न वन मन्त्रालयलाई आग्रह गरेका छन् ।

Visited 31 times, 1 visit(s) today