हेटौंडा । पश्चिम मकवानपुरको चेपाङ समुदाय नेकपा (एकीकृत समाजवादी)मा आकर्षित भएका छन् ।

पछिल्लो समय नेकपा एसको विभिन्न कमिटीमा चेपाङ समुदायको नेतृत्व बढेसँगै चेपाङ समुदाय राजनीतिमा सक्रिय पनि भएका छन् । पार्टीको टोल, वडा, गाउँ, जिल्लादेखि बागमती प्रदेश कमिटीमा मकपानपुरको चेपाङ समुदायको नेतृत्व रहेको छ । यस्तै, जनवर्गीय संगठनमा पनि चेपाङ समुदाय केन्द्रीय नेतृत्वमा रहेका छन् ।

पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिकाका गोविन्दराम चेपाङ संविधान सभा सदस्य पनि हुन् । नेकपा एमाले विभाजनपछि चेपाङ नेकपा एसको बागमती प्रदेश कमिटी सदस्य हुन । यस्तै, राक्सिराङ गाउँ कमिटी इञ्चार्ज तथा मकवानपुर सचिवालय सदस्य कृष्णबहादुर चेपाङ राक्सिराङको पूर्व गाविस अध्यक्ष पनि हुन ।

हालै, नेपाली सेनाबाट अवकाश लिएका राक्सिराङकै सूर्यमान चेपाङ मकवानपुरको जिल्ला कमिटी सदस्य एवम् नेकपा एसको भ्रातृसंगठन नेपाल भूपू सैनिक तथा प्रहरी संगठन (समाजवादी)को केन्द्रीय सचिव भएका छन । मकवानपुर जिल्ला सदस्य तथा नेपाल प्रहरीबाट अवकाश प्राप्त कान्छाराम चेपाङ संगठनको केन्द्रीय सदस्य हुन । यतिमात्रै होइन, राक्सिराङका युवा पुस्ता पनि नेकपा एसप्रति आकर्षित भएका छन् । राक्सिराङ गाउँकमिटीमा उपाध्यक्ष बुदुमाया चेपाङ, सचिव प्रशान्त चेपाङ (काँकडा) र सहसचिवमा जुनियल प्रजा (राक्सिराङ) पदाधिकारीमै चयन भएका छन् ।

यस्तै, राक्सिराङको ९ वटा वडा पार्टी कमिटीहरुमा पनि ४९ प्रतिशत नेतृत्व चेपाङ समुदायको रहेको छ । वडा नम्बर २ मा विवेक प्रजा, वडा नम्बर ५ मा अशोक प्रजा, वडा नम्बर ७ मा जंगमान प्रजा र वडा नम्बर ८ मा सरोज प्रजा पार्टीका वडा कमिटी अध्यक्ष रहेको राक्सिराङ गाउँ कमिटी अध्यक्ष ज्ञानेन्द्र लामाले जानकारी दिए । यस्तै, पश्चिम मकवानपुरको मनहरी गाउँपालिकामा पनि एउटा वडाको नेतृत्व चेपाङ समुदायले गरेका छन् । मनहरी वडा नम्बर १ पार्टी कमिटी अध्यक्ष राजेन्द्र प्रजा रहेका छन् ।

पत्रकार रामकुमार एलनको सहयोगमा तयार पारिएको समाचार सामाग्री ।