हिद शब्दले बोकेको अर्थ जति ओजनदार छ । आजभोलि त्यसलाई हल्का रूपमा लिन थालिएको छ । हेटौंडा –११ स्थित सहिद स्मारक पुग्दा जो कोहीले पनि सहिदहरूले देखेका सपनाहरू सम्झिन्छन् । नेताहरू पनि बेलाबेलामा सहिद स्मारक आइरहन्छन् । सहिदको सम्झाना गर्छन् । उनीहरूले देखेको सपना पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्छन् । तर, प्रतिवद्धताहरू क्षणमै बिर्सिएर गन्तव्यतर्फ लाग्छन् ।

देशका लागि विभिन्न कालखण्डमा ज्यान दिएका सहिदहरूको सम्मानमा सहिद स्मारक निर्माण गरिएको हो । यहाँ सम्पूर्ण सहिदलाई एकै थलोमा स्मरण गर्न ६ वर्षअघि सहिद स्मृति स्तम्भ निर्माण गरिएको थियो । स्मारकलाई सहिदको तीर्थस्थलका रूपमा विकास गर्न स्तम्भ निर्माण गरिएको हो । १९ मिटर गोलाइमा ६५ फिट अग्लो स्तम्भ निर्माण गरिएको छ । चारैतिर बगैचा र अग्र भागमा नेपालको प्राकृतिक नक्सा निर्माण गरिएको छ । ’सबै सहिदहरूको छट्टाछट्टै शालिक बनाउन सम्भव नभएकाले सबै सहिदको सम्झनामा स्तम्भ निर्माण गरेका हौं,’ सहिद स्मारक विकास समितिका अध्यक्ष एवं बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले भने । स्तम्भ करिब १ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो ।

स्मारकमा विभिन्न राष्ट्रभक्तिपूर्ण युद्ध र जनसंघर्षहरूमा सहिद भएका १२ सहिदको एउटै ढुंगामा मुखाकृत कुदिएको हो । स्थानीय सरस्वती खोलाबाट ल्याइएको श्यामल वर्णको ढुंगामा कलामक ढंगले कुँदिएको शालिक सहिद स्मारकको प्रमुख आकर्षण हो । उक्त कलाकृति सहिद दिवसका दिन मात्र खुल्ला हुन्छ ।

ढुंगामा भीमसेन थापा, दशरथ चन्द, गंगालाल श्रेष्ठ, धर्म भक्त माथेमा र शुक्रराज शास्त्रीको आकृति कोरिएको छ । त्यस्तै भीमदक्त पन्त, योरेन राजवंशी, क्याप्टेन यज्ञबहादुर थापा, दुर्गानन्द झा, मुनेश्वरी यादव, रत्न कुमार वान्तवा, प्रभाकर पौडेलको आकृति कुदिएको छ । स्मारकमा नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका बीपी कोइराला, गणेशमान सिंह, मनमोहन अधिकारी र पुष्पलाल श्रेष्ठको शालिक राखिएको छ । त्यस्तै तत्कालीन एमालेका महासचिव स्व. मनद भण्डारीको मृत्यु भएको दास ढुंगाको दृश्य प्रतिविम्बित हुनेगरी पूर्णकदको मदनको पहिलो सालिक निर्माण गरिएको छ ।

एक विघा क्षेत्रमा चिडिया घरसमेत निर्माण गरिएको छ । साथै नेपालमा भएको विभिन्न कालखण्डका आन्दोलनका सहिदहरूबारे जानकारी दिन पुस्तकालय निर्माण गरिएको छ । सहिद वारे अध्ययन, अनुसन्धान एवं खोज गर्न चहानेका लागि अनुसन्धान केन्द्रका रुपमा सहिद स्मारकमा सहिद सहिद ग्यालरी निर्माण गरिएको स्मारकका कार्यालय प्रमुख रामचन्द्र न्यौपानेले बताए । ’यहाँ सहिदहरुबारे प्रकाशित पुस्तक लेख, रचना, फोटो आदि संकलन गरी रखिएका छन् । देशका सबै सहिदबारे एकै ठाउमा बसेर बुझ्न र अध्ययन गर्न पाउने वातावरण निर्माण गर्ग हामी लागिपरेका छौं,’ उनले भने ।

२०४६ सालको जनआन्दोलनपछि २०४७ साउन ७ गते हेटौंडा–११ स्थित २० हेक्टर उजाड डाँडोमा बृक्षरोपण गरी सहिद स्मृति वाटिका नामाकरण गरिएको थियो । २०५२ मा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले उद्घाटन गरेको सहिद स्मारक साढे २ दशकको बीचमा हेटौंडाको प्रमुख चिनारी बन्न पुगेको छ । यहाँ बार्षिक २ लाख बढी पर्यटक आउन गरेको समितिको तथ्यांक छ ।
शब्द कृष्ण सारु मगर
तस्विर अनिल पराजुली