हेटौंडा । मनहरी गाउँपालिका चौथो अध्यक्ष कप फुटबल प्रतियोगिता–२०८० को उपाधि ७ नं. वडाले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा २ नं. वडालाई १–० गोल अन्तरले पराजित गर्दै ७ नं. ले उपाधि जितेको हो । ७ नं. वडाका तर्फबाट खेलको ५४ औं मिनेटमा मनिष पौडेलले गरेको गोल नै निर्णायक गोल भयो ।

विजेता बनेको ७ नं. वडाले एक लाख रुपैयाँ र उपविजेता २ नं. वडाले ५० हजार प्राप्त गर्न सफल भए । खेलको म्यान अफ द म्याच र खेलको सर्वोत्कृष्ट खेलाडी मनहरी २ का अशोक मोक्तान घोषित भए । .उनले म्यान अफ द म्याच वापत २ हजार र सर्वोत्कृष्ट खेलाडी भए बापत १० हजार प्राप्त गरे ।

प्रतियोगितामा उत्कृष्ट गोलकिपर आशिष राउत, डिफेन्डर सुदिप सापकोटा, मिडफिल्डर कपिल मोक्तान, सर्वाधिक गोलकर्ता मनिष पौडेल र प्रशिक्षक सागर स्याङ्तान घोषित भए । उनीहरुले जनही नगद ५ हजार रुपैयाँ सहित ट्रफी प्राप्त गरे । प्रतियोगिताको मनहरीका फुटबल खेलाडी सन्तोष गोङ्बा र कृषल मोक्तानलाई नगद १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो ।

प्रतियोगिताको समापन समारोहमा मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, उपाध्यक्ष सीता पुलामी, अखिल नेपाल फुटबल संघ एन्फा केन्द्रीय सदस्य टिकाराम लामा, ७ नं. वडाका कार्यबाहक अध्यक्ष नवराज सुवेदी लगायतले मन्तव्य व्यक्त गरे । प्रतियोगिताको समापनमा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, गाउँपालिकाका विभिन्न शाखाका प्रमुख प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।