हेटौंडा । बागमती प्रदेश सरकारले गृहिणी महिलाहरुलाई सशक्तिकरण गर्ने भएको छ । प्रदेशभित्र स्थायी रुपमा बसोबास गर्ने गृहिणी महिलाको सशक्तिकरणका लागि उद्यमशीलता, स्वावलम्बन र सीपमूलक तालिम मार्फत स्वरोजगार एवं आत्मनिर्भर बनाउन सहयोग गर्ने उद्देश्य प्रदेश सरकारले लिएको हो ।

गृहिणी महिला सशक्तिकरण कार्यक्रम कार्यान्वयन कार्यविधि २०८० अनुसार प्रदेश सरकारले कार्यक्रम सञ्चालन गर्नेछ । बागमती प्रदेशभित्र स्थायी बसोबास गर्ने घरायसी कार्यमा संलग्न विवाहित, अविवाहित एकल महिलालाई सशक्तिकरण गर्ने उद्देश्य प्रदेश सरकारले राखेको छ । प्रदेश सुशासन ऐन २०७७ को दफा ४६ ले दिएको अधिकार प्रयोग गरी बागमती प्रदेश सरकारले यो कार्यविधि बनाएको हो ।

गृहणी महिलाको सशक्तिकरण गर्दै जीविकोपार्जन,आयआर्जन गर्नका लागि आत्मनिर्भर बनाउन सहयोग गर्ने, गरिबीको रेखामुनि रहेका समुदायका गृहिणी महिलालाई आयमूलक क्रियाकलाप गर्न प्रोत्साहन गर्ने, उद्यमशीलता र सशक्तिकरणको माध्यमबाट महिलाको आर्थिक तथा सामाजिक रूपान्तरण र क्षमता अभिवृद्धि गर्ने, गृहिणी महिलाको लागि सचेतना एवं नेतृत्व विकासका लागि क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखिएको छ ।

गृहिणी महिला सशक्तिकरण कार्यक्रम कार्यान्वयनका लागि स्थानीय तह छनौट गर्न सामाजिक विकास मन्त्रालयले पुस १३ गते सूचना समेत जारी गरेको छ । मन्त्रालयको चालु आर्थिक बर्षको स्वीकृत बार्षिक कार्यक्रम अन्र्तगत बागमती प्रदेश भित्र स्थायी वसोबास गर्ने गृहिणी महिलाहरुको लागि सञ्चालन गरिने “गृहिणी महिला सशक्तिकरण कार्यक्रम” कार्यान्वयन गर्न प्रदेश भित्रका स्थानीय तहहरु छनोट गर्नुपर्ने भएकोले गृहिणी महिला सशक्तिकरण कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८० को परिच्छेद ३ को दफा ९ को प्रयोजनार्थ सोही कार्यविधिको दफा १० (क) बमोजिम सूचना प्रकाशन गरिएको हो । सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र मन्त्रालयको सामाजिक विकास महाशाखामा प्रस्ताव पठाउन स्थानीय तहलाई आग्रह गरिएको छ ।

गृहिणी महिलाको क्षमता अभिबृद्धि, सशक्तिकरण गर्न सके उनीहरुको आर्थिक आर्यआर्जन बृद्धि हुँदा घरेलु हिंसा पनि घट्ने बागमती प्रदेशका मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देवीप्रसाद ढकालले बताए । “गृहिणी महिलासँग प्रदेश सरकार” भन्ने मूल नाराका साथ गृहिणीहरूलाई सशक्तीकरण गर्दै आत्मनिर्भर बनाउन लागिएको उहाँले जानकारी दिए । उद्यम गर्नका लागि महिलाहरुको समूह वा व्यक्तिलाई सीप सिकाउने, तालिम दिने, आवश्यक परामर्श गर्ने र उद्यमशीलताका लागि समूहहरुलाई दुईलाख सम्म बिउपुँजी दिइने छ । गृहिणी महिला उद्यमशील कार्यक्रम सञ्चालनका लागि बागमती प्रदेश सरकारले पाँच करोड रुपियाँ विनियोजन गरेको छ ।