हेटौंडा । नेकपा (एमाले)का सचेतक एवं प्रतिनिधि सभा सदस्य महेशकुमार बर्तौलाले बैंकको वेतिथीका कारण आम नागरिकले समस्या भोग्नुपरेको बताएका छन । मकवानपुर उद्योग बाणिज्य संघको ५७ औँ साधारसभालाई हेटौँडामा सम्बोधन गर्दै उनले ऋण सम्झौंता गर्दाको ब्याजदर भन्दा फरक ब्याज बैंकले असुलेर आम जनतालाई दुःख दिएको बताए ।

“ऋण सम्झौंता गर्दा ब्याजदर ८ प्रतिशतले हुन्छ, बैंकको बदमासीले गर्दा १६ प्रतिशत सम्म ब्याज तिर्नुपर्ने हुन्छ, यो भन्दा वेतिथी के हुन सक्छ,”–एमालेका सचेतक बर्तौलाले प्रतिप्रश्न गरे । उनले राज्य प्रशासन कमजोर भएकाले विदेशीले समेत हेप्न थालेको बताए ।

सरकारले लगानीमैत्री वातावरण बनाएर आम जनतामा आशा जगाउनुपर्नेमा जोड दिए । उनले बागमती प्रदेश सरकारलाई उद्योगमैत्री वातावरण बनाउन ध्यानाकर्षण पनि गराए । मकवानपुरमा संभावना धेरै रहेको जिकिर गर्दै उनले हेटौँडा कपडा उद्योग सञ्चालनको वातावरण बनाइदिन सरकारलाई आग्रह गरे । हेटौँडा सिमेन्ट उद्योग नियमित सञ्चालन गर्न संघीय र प्रदेश सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए ।

मध्यवर्तीको समस्याका कारण राज्यले घोषण गरेको मयूरधाप औद्योगिक क्षेत्र सुरुवात हुन नसकेकोप्रति बर्तौंलाले मुख्यमन्त्रीको ध्यानाकर्षण गराए । उनले सरकारको एउटा मन्त्रालयले औद्योगिक क्षेत्र निर्माणका लागि बजेट छुट्याउने र अर्को मन्त्रालयले पुलिस र आर्मी लगेर रोक्दा औद्योगिक क्षेत्र निर्माण हुन नसकेकोप्रति चिन्ता व्यक्त गरे ।