हेटौंडा । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले एम्बुलेन्स सेवाका लागि हटलाइन नम्बर सञ्चालनमा ल्याएको छ । पैसा नलाग्ने नम्बर १०२ मा फोन गरेर जो–कोहीले सजिलै एम्बुलेन्स सेवा प्राप्त गर्न सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपाल सरकारले ल्याएको राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८ बमोजिम बागमती प्रदेशमा पनि एम्बुलेन्स सेवालाई व्यवस्थित गर्न सुरु गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.खगेश्वर गेलालले जानकारी दिए । प्रदेशभित्र सञ्चालित सबै एम्बुलेन्सलाई क्रमशः जिपीएस प्रणालीमा जोडेर एकद्वार सेवामा आबद्ध गरिने उनको भनाइ छ ।

बिरामीले फोन गरेर आफ्नो नाम र ठेगाना टिपाएपछि जिपीएसबाट हेरेर त्यस क्षेत्र नजिकमा रहेको एम्बुलेन्सलाई बिरामी भएको ठाउँसम्म पठाउने प्रबन्ध प्रेषण केन्द्रबाट हुने मन्त्रालयले जनाएको छ । प्रदेशभित्र ७०७ एम्बुलेन्स सञ्चालनमा रहेको मध्ये २०६ एम्बुलेन्समा जिपीएस जडान गरिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म काठमाडौँ ८१, धादिङ ५०, चितवन २६, मकवानपुर १४, ललितपुर १३, काभ्रेपलाञ्चोक १२, नुवाकोट ५, सिन्धुली २, भक्तपुर, सिन्धुपाल्चोक र रसुवाका एक÷एक वटा एम्बुलेन्समा मात्रै जिपिएस जडान भएको छ । अहिले प्रदेशमा ‘क’ र ‘ख’ गरी दुई वर्गमा बाँडेर एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । ‘क’ वर्गको एम्बुलेन्समा आइसीयू र ‘ख’ मा तालिमप्राप्त स्वास्थ्यकर्मीसहितको सेवा उपलब्ध छ ।

प्रवक्ता गेलालले जिपीएससहितको हटलाइन सेवाले एम्बुलेन्स परिचालनलाई व्यवस्थित र पारदर्शी बनाउने विश्वास व्यक्त गरे । नागरिकलाई सहज र छिटो सेवा दिन र अस्पताल जान एम्बुलेन्स नपाउने, समयमा नआउने अवस्थाको अन्त्यका लागि यो सेवा सञ्चालनमा ल्याइएको उनको भनाई छ । प्रेषण केन्द्रमा थप जनशक्ति प्रबन्ध गरेर हटलाइन सेवालाई व्यवस्थित गर्दै लगिने मन्त्रालयले जनाएको छ । यो सेवालाई जिल्ला तहमा पनि विस्तार गर्ने योजना प्रदेश सरकारको छ ।

२०७७ सालदेखि एम्बुलेन्समा जिपिएस जडान गर्न सुरु गरिएको स्वास्थ्य मन्त्रालयका सुचना अधिकारी डा.रविन भुषालले जानकारी दिए । “प्रत्येक बर्ष एम्बुलेन्सको जिपिएस नवीकरण गर्नुपर्ने हुन्छ, नवीकरण वापत ३५ सयदेखि ३७ सयसम्म शुल्क लाग्छ,”–सुचना अधिकारी भुषालले भने । प्रदेशका एम्बुलेन्स चालकले जीपिएस जडान गर्न नमान्दा समस्या हुने गरेको छ ।