हेटौंडा । नेपाली काँग्रेसका नेता तथा पूर्व महामन्त्री प्रकाशमान सिंहले राजनीतिलाई सेवाको रुपमा ग्रहण गर्न सक्नुपर्ने धारणा राखेका छन । नेपाली काँग्रेस स्थापना दिवसको अवसरमा बागमती प्रदेशको राजधानी हेटौँडामा नेपाली काँग्रेस बागमती प्रदेशको आयोजनामा भएको कार्यक्रमलाई सम्बोदन गर्दै उहाँले राजनीति कुनैपद पाउन र कमाउन नभई सेवाको रुपमा सबैले ग्रहण गर्नुपर्ने बताए ।

पार्टीमा प्राप्त जिम्मेवारी र पार्टीबाट प्रतिनिधित्व गरेर बनेका जनप्रतिनिधिहरुले इमान्दारिताका साथ जिम्मेवारी निर्वाह गर्नुपर्नेमा उनले जोड दिए । जनताले चाहेको सुशासनलाई अनुभुत गराउन पार्टी लाग्नुपर्ने जिकिर गर्दै जनताको इच्छा आकांक्षा बुझेर काम गर्नुपर्नेमा उनले जोड दिए ।

संघीय कानुन बनाउन ढिला हुँदा संघीयतामा प्रदेश र स्थानीय तहको अधिकार प्राप्त हुन नसकेको स्मरण गराउँदै उनले त्यसतर्फ माननीयहरुको ध्यान जानुपर्ने बताए । “संविधान जारी गर्न कांग्रेसले नेतृतवदायी भूमिका निर्वाह गरेको छ, यो इतिहासमै महत्वपूर्ण काम भयो,”–सिंहले भने । काँग्रेसले संविधान जोगाउन गठबन्धन गरेर नेतृत्व गरेको बताउँदै गठबन्धनलाई बलियो बनाउनुपर्नेमा उनको जोड थियो । संविधान र लोकतन्त्रको रक्षा गर्न, संविधानको कार्यान्वयनमार्फत देश विकास गर्न गठबन्धन बनेको उनको भनाई छ । नेपाली राष्ट्रिय काँग्रेसको पहिलो अधिवेशन भएको मिति २००३ माघ १२ लाई आधार मानेर काँग्रेसले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ ।

जिल्ला सभापति वुद्ध लामाले काँग्रेस स्थापनाको मर्मलाई कसरी आत्मसात गर्ने भन्ने चिन्ता रहेको बताउँदै पार्टी रुपान्तरण आजको आवश्यकता रहेको स्पष्ट पारे । कार्यक्रममा राष्ट्रियसभा सदस्य घनश्याम रिजाल, श्रीकृष्ण अधिकारी, विष्णुदेवी पुडासैनी र जितजंग बस्नेत लगायतकाको सहभागिता रहेको थियो ।