हेटौंडा । मकवानपुरमा आयुर्वेदिक उपचारप्रति आकर्षण बढ्दै गएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र हेटौँडा मकवानपुरका अनुसार चालु आर्थिक बर्षको सात महिनामा १५ हजार ३३९ जनाले सेवा लिएका छन् । जसमा महिला ७ हजार ७८७ र पुरुष ७ हजार ५५२ जनाले आयुर्वेद सम्बन्धी सेवा लिएका हुन् ।

चालु आवको सात महिनामा ५ हजार ५२९ महिलासहित १० हजार ७८९ जना नयाँ सेवाग्राही थपिएका छन् । चार हजार ५५० जना सेवाग्राही पुनरावृत्त हुनुभएको तथ्याङ्क छ । नयाँ र पुनरावृत्त भएका सेवाग्राहीको तथ्याङ्कले आयुर्वेदप्रति आकर्षण बढ्दै गएको देखिन्छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र हेटौँडा मकवानपुरका आयुर्वेद चिकित्सक डा.ललिता पाण्डेका अनुसार ६ महिना उमेर समूहको ३३ जना, ७ देखि ११ महिना सम्मको १७८ जना, १ बर्षदेखि ४ बर्षसम्मको ३७९, ५ बर्षदेखि १६ बर्षसम्मको ५४३ जनाले सेवा लिनुभएको हो । त्यस्तै १७ देखि ५९ बर्ष उमेर समूहका ८ हजार ४७३ जना र ६० बर्ष माथि उमेर समूहका ५ हजार ७३३ जनाले सेवा लिएका छन् ।

चालु आर्थिक वर्षको सात महिनामा १४ हजार ७१५ जनाले बहिरङ्ग सेवा, २ हजार ४७ जनाले पञ्चकर्म र पूर्वकर्म सेवा, २७५ जनाले शल्य चिकित्सक सेवा, एक हजार ४२१ जनाले जेष्ठ नागरिक सेवा लिएका हुन । त्यस्तै २६५ जनाले स्तनपायी आमा तथा शिशु सेवा, एक हजार ४५१ जनाले फिजियोथेरापी सेवा, १ हजार १९६ जनाले अकुपंञ्चर सेवा, एक हजार ३०३ जनाले प्रयोगशाला (ल्याव) सेवा र ९२४ जनालाई योग सेवा दिइएको छ ।

आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुर प्रमुख डा पाण्डेका अनुसार विगतभन्दा दिन प्रति दिन आयुर्वेदप्रति सेवाग्रहीको आकर्षण बढ्दै गएको छ । आयुर्वेदिक औषधिले अन्य भन्दा स्वास्थ्यमा कम असर गर्ने विश्वाससँगै यसतर्फ आकर्षण बढ्दै गएको हो । विशेषगरी ग्यास्ट्रिक, हाड जोर्नी तथा नसाको दुखाइ, पायल्स, रुघा, खोकी ज्वरो लगायतका स्वास्थ्य समस्या लिएर बिरामी आउने गरेको पाण्डेको भनाई छ । केन्द्र मार्फत नेपाल सरकारले निर्धारण गरेको २३ थरीका औषधी निःशुल्क वितरण गरिएको छ ।

गत आर्थिक वर्षमा १४ हजार १५५ महिलासहित २६ हजार ८९४ जनाले सेवा लिएका थिए । आयुर्वेद स्वास्थ्य केन्द्रले बहिरङ्ग सेवा, निःशुल्क औषधी, पञ्चकर्मरपूर्वकर्म, शल्य चिकित्सा, ज्येष्ठ नागरिक, स्तनपायी आमा तथा शिशु, फिजियोथेरापी, अकुपंञ्चर, प्रयोगशाला (ल्याब), योग लगायतको सेवा प्रदान गर्दै आएको उनले बताए ।

जिल्लामा हाल छ वटा नागरिक आरोग्य सेवा केन्द्र र तीन वटा आयुर्वेद औषधालय मार्फत सेवा प्रदान गरिर्दै आएको छ । मकवानपुरको मनहरी, राक्सिराङ, कैलाश, बागमती र इन्द्रसरोवर गाउँपालिका तथा थाहा नगरपालिकामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा रहेको छ ।

त्यस्तै हेटौँडा उपमहानगरपालिका वडा नं. १५ चुरियामाई, हेटौँडा–१७ मा हटिया र राक्सिराङको काँकडामा आयुर्वेध औषधालय मार्फत सेवाग्राहीलाई सेवा प्रदान गर्दै आईरहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र हेटौँडा मकवानपुरका कविराज निरीक्षक विनोद कुमार साहले जानकारी दिए । सो क्षेत्रमा वाथ, छाला सम्बन्धी समस्या धेरैमा हुनेगरेको उनको भनाई छ ।
गोरखापत्रका लागि हेटौंडाबाट अनिल पराजुलीले लेख्नुभएको समाचार साभार गरेका हौं ।