हेटौंडा । समाचार संकलनकालागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ को कार्यालयमा पुगेका संचारकर्मीहरुलाई वडाअध्यक्षले दुव्यवहार गरेका छन । समाचार संकलनका लागि मंगलबार वडा कार्यालय पुुगेका पत्रकारद्वय छवि अनित्य र मन्जिता मैनालीमाथि वडाध्यक्ष दिपक खड्काले दुर्व्यवहार गरेका हुन ।

खड्काले ‘सबै पत्रकार चोर हुन’ भन्दै वडाध्यक्षको कार्यकक्षबाट थुतेर बाहिर निकाल्ने धम्की दिएको पत्रकार छवि अनित्यले बताए । खड्काले गालीगलौजको भाषा प्रयोग गर्न थालेपछि अडियो रेकर्ड गर्न लाग्दा सञ्चारकर्मीको मोबाइल समेत नियन्त्रणमा लिइएको थियो ।

चेपाङ समुदायको एउटै घरका ६ जना बालबालिकाको जन्मदर्ता बनाउन कठिनाई भएको विषयमा जानकारी लिन पत्रकार अनित्य र मैनाली त्यहाँ पुगेको बताइएको छ ।

पत्रकार महासंघको ध्यानाकर्षण
नेपाल पत्रकार महासंघ, मकवानपुर शाखाले मंगलवार प्रेस विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण भएको जनाएको छ । जिल्ला अध्यक्ष मणिराज गौतमद्वारा हस्ताक्षरित विज्ञप्तीमा समाचार संकलनका क्रममा प्रतिक्रिया लिन पुग्दा मकवानपुरका सञ्चारकर्मीद्वय छवि अनित्य र मञ्जु मैनालीमाथि हेटाै‌डा उपमहानगरपालिका वडा नम्बर–१४ का वडा अध्यक्ष दीपक खड्काले गरेको दुव्र्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

वडाका एक चेपाङ परिवारको जन्मदर्तामा परेको कठिनाई सम्बन्धी समाचार संकलनका क्रममा प्रतिक्रिया लिन वडा कार्यालय पुगेका सञ्चारकर्मीहरुलाई वडा अध्यक्ष खड्काले अपशब्द प्रयोग गर्दै सञ्चार उपकरण नियन्त्रणमा लिने र धम्कीपूर्ण भाषा प्रयोग गरेकोप्रति महासंघले घोर भत्र्सना गरेको हो ।

प्रेस तथा वाक स्वतन्त्रताको रक्षाप्रति सचेत र कटिवद्ध हुन स्थानीय सरकार र जनप्रतिनिधिलाई विज्ञप्तिमार्फत् ध्यानाकर्षणसमेत गराइएको छ । स्वतन्त्र प्रेसप्रतिको कुनै पनि किसिमको हस्तक्षेप पत्रकार महासंघलाई स्वीकार्य छैन, यस घटनाप्रति आत्मालोचना गरी माफी माग्दै आगामी दिनमा यस्ता कार्य नगर्न वडाध्यक्ष खड्कालाई सचेत पनि गराइएको छ ।

प्रकाशित समाचार सामाग्रीप्रति कुनै गुनासो या समस्या भए कानुनी उपचार खोज्ने प्रावधान हुँदाहुँदै पत्रकारमाथि दुर्व्यवहार तथा गाली गलौजमा उत्रनु निन्दनीय रहेको छ । सञ्चारकर्मीलाई सहज वातावरणमा समाचार संकलनको वातावरण बनाउन महासंघ सम्बन्धित सबै सरोकारवालामा अनुरोध पनि गरिएको छ ।

सेन्टर र युनियनको आपत्ति
समाचार संकलनका क्रममा हेटौंडा उपमहानगरपालिका १४ नम्वर वडा कार्यालयमा सञ्चारकर्मी श्रेष्ठ र मैनालीमाथि वडा अध्यक्ष दिपक खड्काबाट दुर्व्यवहार भएको घटनाप्रति प्रेस सेन्टर मकवानपुर र प्रेस युनियन मकवानपुरले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

समाजलाई सत्य तथ्य एवम् निश्पक्ष समाचारमार्फत् सुसूचित गराउने महत्वपूर्ण जिम्मेवारीका साथ समाचार संकलनका लागि वडा कार्यालय पुगेका सञ्चारकर्मीहरुलाई अध्यक्ष खड्काले समग्र पत्रकार र पत्रकारिता पेशामाथि नै ठेस पुग्ने गरी गालीगलौजको भाषा प्रयोग गर्दै धरपकड गर्ने, मोबाइल थुतेर राख्ने जस्ता गतिविधि गर्नु निकै आपत्तीजनक रहेको दुबै सङ्गठनको भनाइ छ ।

प्रेस सेन्टर मकवानपुरकी अध्यक्ष अन्जली थापाले समाचार संकलनको क्रममा पत्रकार माथि भएको अभद्र व्यवहारप्रति घोर आपत्ति व्यक्त गर्दै दोषिलाई कारवाही गर्नुपर्ने माग गरिन् । त्यस्तै प्रेस युनियनका सचिव बलराम पुडासैनीले जनप्रतिनिधिबाट भएको यो कार्य लज्जास्पद भएको बताए ।