हेटौंडा । मनहरी गाउँपालिका वडा नं ८ का चन्द्र बहादुर बोटको केही समय अघि सडक दुर्घटना भयो । गत बिहीबार सडकमा पैदल यात्रा गरिरहेका बोटलाई एक अज्ञात मोटरसाइकलले ठक्कर दिएपछि उनी घाइते भए । उनलाई तत्काल एम्बुलेन्सको व्यवस्था गरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले अस्पताल पठाए । उनको निधार र ढाडमा गम्भीर चोट लागेका कारण आकस्मिक सेवाका लागि भरतपुरको एभरेस्ट अस्पताल पुर्याइयो । 

टाउकोको शल्यक्रिया र अन्य उपचार गर्दा अस्पतालले करिब १ लाख ३३ हजारको रसिद दियो । मनहरी मात्र नभै देशकै लोपोन्मुख बोट जाती आर्थिक रुपले बिपन्न थिए । उनीहरूको दैनिक गुजारा राप्ती खोलामा माछा मार्दै त्यसलाई बिक्री गरेर आएको पैसाबाट हुन्थ्यो । घरको मुख्य जिम्मेवार व्यक्तिनै घाइते भएर अस्पतालमा लडिरहँदा घरमा छाक टार्नकै मुस्किल भएको बेला अस्पतालको त्यो रसिदले झनै मुर्छा बनायो । आम्दानीको श्रोतनै नभएपछि कसैले ऋण पनि पत्याएनन् । निजी अस्पताल भएका कारण अस्पतालले पनि बिना रकमको उनलाई डिस्चार्ज गर्न मानेन । 

यस्तैमा गाउँपालिका अध्यक्ष कालाखेतीले उनको उपचारमा लागेको खर्च व्यहोरेर उनलाई घर सम्म पुर्याइदिए । अध्यक्ष कालाखेतीले निर्वाचित भएदेखि नै आफूले पाउने सेवा सुविधा बापतको रकम कोष बनाएर बचत गर्दै आएका छन् । उनले मासिक रुपमा प्राप्त गर्ने रकम र अन्य स–साना बैठकबाट प्राप्त हुने भत्तालाई सोही कोषमा जम्मा गरि आवश्यक अनुसार विपन्न नागरिकको सेवा गर्दै आएका छन् । 

सोही अनुसार उनले आफ्नो कोषबाट रु ७० हजार र गाउँपालिकाबाट रु  ५० हजार गरी अस्पतालको रकम चुक्ता गरिदिए । उनले अस्पताल प्रशासनलाई पनि उनीहरूको अवस्थाबारे जानकारी गराएर १० प्रतिशत छुट दिलाइदिए । आगामी दिनमा थप सहयोगको आवश्यकता परे आफू तत्पर रहेको उनको भनाई छ ।