हेटौँडा । दुर्लभ वनस्पति ‘भोटेलहरा’ को मकवानपुरमा संरक्षण थालिएको छ । ‘भोटेलहरा’ संरक्षण गर्नका लागि जिल्लाका सामुदायिक वनमा भोटेलहराको विरुवा रोपण थालिएको हो । नेपालबाटै हरायो भन्ने आशंका गरिएको साइटिस सूचिकृत वनस्पति भोटेलहराका विरुवा उत्पादन गरेर पुन सामुदायीक वनहरुमा रोपण थालिएको वनस्पति अनुसन्धान केन्द्र मकवानपुरका प्रमुख एवम् वरिष्ठ वैज्ञानिक अधिकृत रघुराम पराजुलीले जानकारी दिए ।

वनस्पति अनुसन्धान केन्द्र मकवानपुरको नर्सरीमा दुर्लभ वनस्पति ‘भोटेलहरा’ नर्सरीका साथै संरक्षण गरिएको छ । २०७८ सालमा मकवानपुरको बकैया गाउँपालिकाको वडा नम्बर ११ ठिङ््गनबाट फेला परेको वनस्पति यहाँ संरक्षण गरि अहिले विभिन्न स्थानमा वृक्षारोपण थालिएको छ । भोटेलहरा सङ्खुवासभा, तनहुँ र मकवानपुरमा मात्र रहेको वनस्पति अनुसन्धान केन्द्र, मकवानपुरका कार्यालय प्रमुख एवं वरिष्ठ वैज्ञानिक अधिकृत पराजुलीको भनाई छ ।

चीन, भारत, म्यानमार, थाइल्याण्ड कम्बोडिया जस्ता मुलुकहरूमा पनि यो वनस्पति पाइन्छ । यो वनस्पतिका पातहरू लामा, चौडा र हरिया हुन्छन् । काण्डमा गाँठा र अन्तरगाँठाहरु हुन्छन् । काण्ड पनि कडा खालको हुन्छ भने प्रजनन अङ्गकोरूपमा बाहिरबाट हेर्दा पिपलासँग पनि झुक्किन सकिने अनि झट्ट हेर्दा यार्सागुम्बाको जस्ता आकार भएका कोणहरू हुन्छन् । यसको काण्ड, पात तथा यसका कोणहरूबाट सहजै अरू वनस्पतिबाट छुट्टाउन सकिन्छ । भाले कोणहरू पोथी कोणभन्दा तुलनात्मकरूपमा छोटा हुन्छन् । परागसेचन हुन सक्यो भने पोथी कोनमा फल लाग्दछन् । यी फल पाक्दा राता पहेँला रङ्गका हुन्छन् । यस्ता फलहरू खाने पनि गरेको अध्ययनहरूले देखाएका छन् ।

राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशालाको अभिलेखअनुसार सन् १९६५ मा सबैभन्दा पहिले एम एल बेनर्जी नेतृत्वको टिमले पूर्वी नेपालको सिदुवा क्षेत्र आसपासबाट ‘भोटे लहरा’ सङ्कलन गरेका थिए । यसैगरी सन् १९६६ मा मकवानपुर वृन्दावन वनस्पति फार्म क्षेत्रबाट सङ्कलन भएको देखिन्छ भने बीचको अवधिमा रतुवाखोला, चुलाचुली, चितवन, संखुवासभाका विभिन्न स्थान र तनहुँबाट हर्वेरीयम सङ्कलन भएको देखिन्छ । यस अगाडि सङ्खुवासभाको नुम क्षेत्र, तनहुँको ढोरफिर्दी, ढोरबाराही मन्दिर क्षेत्रबाटसंकलन भएको अभिलेख जानकारीमा आएको वरिष्ठ वैज्ञानिक पराजुलीको भनाई छ ।

सङ्कटापन्न सूचीमा रहेको वनस्पति विज्ञानमा निटासी परिवारमा पर्ने निटम जातिको वनस्पतिका विश्वभर करिब ४० प्रजाति मात्र रहेको अध्ययनले देखाएको छ । नेपालमा पाइने प्रजाति निटुमोन्टलम रहेको जानकारी दिर्दै उनले यसको स्थानीय नाम भोटेलहरा भएको बताए । सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिका प्रजातिको अन्तरराष्ट्रिय व्यापार महासन्धी
(साइटिस महासन्धी), २०७३ को पक्षराष्ट्र भएका कारण यसको कार्यान्वयनका लागि नेपालले सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिका प्रजातिको अन्तरराष्ट्रिय व्यापारलाई नियमन तथा नियन्त्रण गर्ने ऐन २०७३ र नियमावली २०७६ ल्याएको हो ।

साइटिस महासन्धीमा रहेका ३ अनुसूचीमध्ये भोटेलहरा अनुसूची ३ मा पर्दछ । भोटेलहरा ढिलो बढ्ने सदावहार वनस्पति हो । यो एक लहरा खालको वनस्पति हो । भाले र पोथी बिरुवा अलग–अलग हुने भएका कारण यिनीहरूमा परागसेचन हुन नसकेर पनि यो प्रजातिका नयाँ बिरुवा विस्तार नभएको वरिष्ठ वैज्ञानिक पराजुलीको भनाइ छ । दम खोकीमा फल उपयोगी हुने अध्ययनहरूले देखाएका छन् भने यसको लोकता बन्दुकको झोला बनाउन उपयोग हुने गरेको उहाँको भनाई छ ।

वनस्पति अनुसन्धान केन्द्र, मकवानपुर अन्तर्गतका ३ वटा वनस्पति उद्यानहरूमा ६५० भन्दा बढी प्रजातिका वनस्पतिहरूको वंशाणु स्रोत संरक्षित छन् । जिल्ला भित्रका एवं चुरे क्षेत्रका विभिन्न स्थानबाट वनस्पति सर्वेक्षण, संकलन गरी पहिचान गर्ने र वनस्पतिहरूको हर्वेरियम नमुना संरक्षित गर्ने कार्य गर्दै आइरहेको छ ।