हेटौंडा । बैदेशिक रोजगारीबाट फर्केर हेटौंडाका एक युवाले कृषि कर्म रोजेका छन । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ हटिया जुरेथुमका भगवान पुरी अहिले बारीमै व्यस्त भेटिन्छन ।

रोजगारीको लागि उनी साउदी अरबको दमाम पुगेका थिए । उनी चालक (ड्राइभिङ्ग) भिषामा त्यहाँ पुगेका थिए । उनले चार बर्ष साउदीमा बिताए । घर परिवार छाडेर कमाउनका लागि सात समुन्द्र पुग्दाको क्षण सम्झदै उनले भने–यही मोवाइलको भरमा परिवारको सझना मेटाउथें । इन्टरनेट मार्फत भिडियो, अडियो कल गरेर परिवारको झल्को मेट्ने गरेको उनले बताए ।

साउदीमा रहँदा ५० डिग्री भन्दा माथि तापक्रम हुने गरेको सम्झदै उनले भने एसीकै भरमा जिन्दगी चलेको थियो । ड्राइभिङ्ग भिषामा गएको बताउँदै उनले लोड अनलोड गर्नेबेला बेल्ट बाध्न बाहिर निस्कदा पनि गर्मीले निथरुक्क भिजेको अनुभव सुनाए ।

उनी ४ बर्ष साउदी बसेर फर्किएका हुन । २ बर्षमा बिदामा एक पटक नेपाल आएर फेरि उनी साउदी नै फर्किएका थिए । साउदीबाट फर्केपछि उनले परिवार संगै बसेर नेपालमै केही गर्ने निधो गरे । उनले परिवारका लागि किराना पसल खोलेका छन, कृषि काम गर्न उनले टनेल खेती पनि गरेका छन । करिव ५ कठ्ठा जग्गामा उनले सिजन अनुसार खेति गर्दै आएका छन । उनको कृषि कर्ममा उनकी पत्नीले सहयोग गरेकी छिन । किराना पसल उनको पत्नीले संचालन गरेकी छन ।

सकेसम्म अब बिदेश नजाने मनस्थिती बनाएका पुरी कृषिमा सोचेजस्तो लाभ लिन नसक्दा फेरि एक पटक बिदेश जाने हो कि भन्ने बेला–बेला सोच मग्न हुने गरेका छन । उमेर छ, अझैं कमाउन सक्छु, यहाँ कृषि काम गर्न भनेको बेला मल बिउ पाइदैन, उत्पादन भएपछि बेच्ने बेला भाउ आउदैन, सरकारले पनि कृषकलाई खासै महत्व दिएको छैन, उनले गुनासो पोखें ।

पहिलो पटक रोजगारीका लागि साउदी पुगेका उनले सुरुमा २ हजार रियाल कमाउथे भने दोश्रो पटक पुनः साउदी पुगेका उनले मासिक ४ हजार रियाल सम्म कमाएको अनुभव बताए । सुरुमा काम गर्न मेलोमेसो थिएन, उनले भने भाषा नबुझदा अप्ठेरो थियो । रोजगारीमा गएर बिदामा फर्केपछि उनले राम्रो तलब, सेवा सुबिधा पाएको बताए । साउदीमा उनी ट्रिपर चलाउथे, टिपका आधारमा तलव संगै थप पैसा पाउथें । साउदी रहँदा अग्रेजी र अरबी दुबै भाषाको आवश्यकता पर्ने गरेको उनले सुनाए । उनी काम गर्ने ठाउँमा अमेरिकनहरु पनि थिए ।

साउदी जाने बेला मेनपावर मार्फत गएका उनले मेनपावरर सम्म पुग्न एजेन्टको सहयोग लिएका थिए । उनले साउदी पुग्न करिव डेढ लाख बुझाएका थिए । रोजगारीमा जाने बेला लागेको सम्पूर्ण खर्चको जोहो उनले ऋण गरेर गरेका थिए । उनले साउदीबाट कमाएको पैसाले जाँदा लागेको ऋण तिरे, बालबच्चाको शिक्षा दिक्षा र घरायसी खर्च चलाए, केही जग्गा जमिन पनि जोडे, उनले किराना पसल पनि खोले ।

बिदेशिनु नेपालीको चाहना होइन बाध्यता हो । अहिले एक घर एक रोजगार भएको छ, बैदेशिक रोजगारी । हाल साउदी अरबमा करिव ३ लाख ६६ हजार नेपालीहरु कार्यरत रहेको तथ्याङक छ ।

अनिल पराजुली
थप जानकारी