
हेटौंडा । हेटौंडाको अस्पतालमा बिगत १३ वर्षदेखि संचालित एकद्धार संकट व्यवस्थापन प्रणाली(ओसीएमसी)पीडित महिलाहरुको निम्ति साहरा बनेको छ । यौनजन्य र घरेलु हिंसामा परेका महिलाहरु औषधि उपचार, कानूनी कारबाही र मनोबल बढाउने कार्य ओसीएमसीले गर्दै आएको छ ।
१४ वर्षकी किशोरी बलात्कृत भएर गर्भवती भएकी थिइन् । उनको १२ साता नाघिसकेको अवस्था थियो । ओसीएमसीको पहलमा हेटौंडा अस्पतालका चिकित्सकहरुले उनको अनिच्छामा भएको गर्भ फालिदिएका थिए ।
ओसीएमसीको पहलमा किशोरीलाई बलात्कार गर्ने पुरुषलाई प्रहरीमार्फत् पक्राउ गराएर कानुनी कारबाही पनि गरिएको थियो । किशोरीलाई तीन दिनसम्म ओसीएमसीको शैय्यामा राखेर उपचार गरेर घर पठाएको थियो । यसैगरी १० वर्षीया बलात्कृत बालिकालाई ओसीएमसीमा नै एक सातासम्म राखेर उपचार गर्नुको साथै मनोपरामर्श दिएर उनलाई पठाएको थियो ।
हेटौंडा उपमहानगरपालिका-३ बस्तीपुरकी ३० वर्षीया महिला पति र सासुबाट निर्घातसँग कुटिएर उपचारको निम्ति हेटौंडा अस्पतालमा ल्याइएको थियो । अस्पतालका चिकित्सकहरुले ओसीएमसीको प्रमुख अम्रिका श्रेष्ठलाई खबर गरिदिए । उनले ओसीएमसीमा ल्याएर ती महिलाको उपचार गरिन् ।
महिला प्रहरी सेलमा खबर गरेर महिलालाई निर्घातसँग कुटपिट गर्ने पति र सासुलाई प्रहरी कार्यालयमा झिकाउने काम गरिन । त्यतिमात्र होइन, ९ बर्षकी बालिका छिमेकीबाट बलात्कृत भएकी थिइन् । उनलाई ओसीएमसीमा ल्याएर उपचार गर्नुको साथै काउन्सिलिङ पनि गरिएको थियो ।
‘पीडित महिलाहरुको निम्ति ओसीएमसी भरोसाको केन्द्र बनेको छ,’ प्रहरी कार्यालयका प्रमुख उपरीक्षक सिताराम रिजालले भने,‘यौनजन्य र घरेलु हिंसामा परेकाहरुले औषधि र कानुनी उपचार पाउँदै आएका छन् ।’
हेटौंडा अस्पतालको परिसरमा संचालित संकट व्यवस्थापन एकद्धार प्रणालीले संचालन गरेका सेवाहरु मुलुकभरमै उत्कृष्ट भएकाले अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरु यहाँ अवलोकन गर्न आउने गरेका छन् । गत आवमा भरतपुर, सिन्धुली अस्पताललगायतका स्वास्थ्यकर्मीको टिम अवोलकनका लागि यहाँ आएका थिए ।
२०६८ सालमा हेटौंडा अस्पतालसहित मुलुकमा ५ वटा अस्पतालमा ओसीएमसी सेवा संचालन गरेको थियो। यो सेवा विस्तार गरिएको छ । ‘यहाको सेवा प्रभावकारी भएकाले अन्य अस्पतालका स्वास्थ्यकर्मीहरु यहा अवलोकन गर्न आउने गरेका छन्,’ अस्पतालका डा. रामचन्द्र सापकोटाले भने, ‘विभाग र मन्त्रालयले पनि हेटौंडाकै ओसीएमसीलाई अवलोकनका लागि सिफारिस गर्ने गरेको छ ।’
स्थापना भएको वर्ष ६८ जनाले सेवा लिएका थिए भने आवमा ०८०/०८१ मा २ सय ९४ जना पीडितले सेवा लिएका थिए । सेवा लिनेमध्येमा १२ जना पुरुष पनि थिए । २४ घन्टा खुला हुनु पर्ने र सेवा पनि दिनुपर्ने भएकाले जनशक्तिको अभावले गर्दा ओसीएमसीका कर्मचारीहरुलाई समस्या भएको छ । उक्त कार्यालयमा ३ जनामात्र कार्यरत छन् । जनशक्तिको अभावले गर्दा सेवा प्रदान गर्न समस्या भइरहेको ओसीएमसीकी हेटौंडाकी प्रमुख श्रेष्ठले बताइन् । कान्तिपुरबाट साभार
प्रतिक्रिया दिनुहोस्