
हेटौँडा । ४२ औं वीपी स्मृति दिवसको अवसर पारेर वीपी विचार समाज मकवानपुरले शनिवार विविधि कार्यक्रमको आयोजना गरेर वीपीको योगदानको चर्चा गरेको छ । स्मृति दिवसको अवसरमा शनिवार समाजले हेटौँडा ११ सरस्वतीमा रहेको वीपी वाटिकामा सरसफाई तथा बृक्षारोपण कार्यक्रम गरेको छ ।
समाजका अध्यक्ष विनोदचन्द्र कोइरालाको सभाध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस मकवानपुरका पूर्व सभापति एवं बागमती प्रदेशका संगठन विभाग प्रमुख माइकल रामचन्द्र अर्यालको प्रमुख आतित्थ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि अर्यालले नेपालको राजनीतिमा वीपीको योगदानको बारेमा चर्चा गरेका थिए । बिक्रम संबत १९७१ भदौ २४ गते जन्मेका कोइराला २०१५ सालको संसदीय निर्वाचनपछि २०१६ जेठमा नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए ।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गर्दै २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिई स्वदेश फर्किएका वीपीको २०३९ साउन ६ गते निधन भएको थियोे ।
कार्यक्रमा कांग्रेस महासमिति सदस्य राधा कोइराला, बागमती प्रदेश सदस्य प्रदिप कोइराला, नगर उपसभापति डोल्मा स्याङ्बो, शिक्षक संघका बागमती प्रदेश अर्थ सचिव शान्ता गजुरेल, हेटौँडा ११ का पार्टी सभापति दिपक उप्रेती लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
समाजका सचिव हरिप्रसाद पौडेलले उक्त अवसरमा वीपी वाटीकामा बृक्षरोपण कार्यक्रम गरेको बताउँदै हर्रो, बर्रो, जामुन, अमला, राजबृक्ष, पारिजात, सुपारी विभिन्न जातका रुखविरुवा रोपिएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्