हेटाैँडा । शनिबार राति परेको अविरल वर्षाका कारण पहिरो जाँदा हेटौँडा भएर काठमाडौं जोड्ने कान्ति लोकपथ सडकखण्ड अवरुद्ध भएको छ । यस्तै हेटौँडाबाट भैँसे–भीमफेदी हुँदै काठमाडौं जाने सडक भने पहिरो हटाएपछि सञ्चालन भएको छ  ।

मकवानपुर प्रहरी कार्यलयले दिएको जानकारीअनुसार गएरातिको अविरल वर्षाका कारण कान्ति लोकपथ सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी र बकैयाका विभिन्न स्थानमा पहिरो जाँदा  यातायात आवगमन बन्द भएको छ ।

भीमफेदी गाउँपालिका- ८ कालोपहिरो, बकैया गाउँपालिकाको वडा नम्बर १२ मानेघुम्ती, ठिंगनबजार, चौतारा भिर र बकैया- ११ आहालेगाउँ, खोरभञ्ज्याङलगायतका स्थानमा पहिरो खस्दा कान्ति लोकपथ सडक अवरुद्ध बनेको हो ।

बाटो खुलाउन सडक विभागसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । पहिरो हटाउन करिब तीन–चार घण्टा लाग्ने भएकाले वैकल्पिक मार्गको प्रयोग गर्न प्रहरीले आग्रहसमेत गरेको छ ।

यता, भैँसे–भीमफेदी सडकखण्डअन्तर्गत  भीमफेदी गाउँपालिकाको वडा नम्बर ४ रातोमाटेमा पहिरो खसेर अवरुद्ध भएको सडक सञ्चालन भएको छ । सडकमाथिबाट खसेको पहिरोले बाटो पूर्ण रूपमा अवरुद्ध भएकोमा सडक विभाग र प्रहरीको सहयोगमा यातायात सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।