
हेटौँडा । पुर्खाहरूले दूध, दही राख्न प्रयोगमा ल्याएको दारबाट बनेको ठेकी पाउन कठिन बन्दै गएको अवस्थामा यसको संरक्षण थालिएको छ । मकवानपुरको चिनारी दारको ठेकी लोप हुँदै गएपछि जिल्लामा यसको संरक्षण गर्न बिउ बगैँचा, दारको बिउ सङ्कलन, नर्सरी, वृक्षारोपण र संरक्षण समिति समेत गठन गरिएको हो ।
डिभिजन वन कार्यालय मकवानपुरले बकैया गाउँपालिका वडा नं. १२ चपकीमा दार वा गित्थी वा पारो भनेर चिनिने दारको बिउ बगैँचा बनाएर त्यहाँबाट बिउ सङ्कलन गरेर नर्सरीमा बिरुवा उत्पादन गरेर वृक्षारोपण गरेको हो । वन अधिकृत वसन्तराज गौतमका अनुसार सो क्षेत्रलाई दार पकेट क्षेत्र बनाएर वृक्षारोपण र संरक्षण गरिदै आएको हो । चपकीमा २ दशमलव ३ हेक्टर क्षेत्रफलमा तारजाली सहित दारको संरक्षण गर्न अघिल्लो र गत आर्थिक वर्षमा गरेर करिव एकहजार विरुवा रोपिएको डिभिजन वन कार्यालय मकवानपुरका सहायक वन अधिकृत दीपक अधिकारीले जानकारी दिए । उनका अनुसार मकवानपुरको बकैया, मनहरी, भैंसे, भीमफेदी, मकवानपुरगढी, ठिंगन, बागमतीको उत्तरी भेगमा दार पाइने गरेको छ ।
अघिल्लो वर्ष रोपन गरिएको दारको बिरुवा हुर्कंदै गएको छ भने साउन पहिलो साता यसक्षेत्रमा वृक्षारोपण गरिएको उनले जानकारी दिए । ‘दारको धेरै महत्व छ, अन्य काठका भाडामा दूध दही राख्दा बिग्रने र गन्हाउने हुन्छ, दारको काठबाट बनेका ठेकी र मायाको चिनो बहुउपयोगी छ,– ‘डिभिजन वन अधिकृत गौतमले भने । भाँडाकुँडाको लागि उपयोग हुने दार प्रजातिको काठको स्पेसिफिक ग्राभिटी ०.६५ रहने हुनाले तुलनात्मक रुपमा अन्य प्रजातिको भन्दा यसको तौल कम हुन्छ जसले भाँडाहरु तुलनात्मक रुपमा हलुका र सहज हुन्छन । यसको काठ मुलत पहाडी भेगमा विभिन्न किसिमका भाँडाकुँडाहरू जस्तै कप, प्लेट, हर्पे, दुधेरी (दुधदुहुने भाँडो), ठेकी (दही राख्ने वा जमाउने भाँडो) आदि वनाउन प्रयोग गरिन्छ । यी काठका भाँडाकुँडामा खाद्य वस्तु भण्डारण गरेमा खाद्यवस्तुको स्वाद दारको ठेकी राम्रो हुने र दहि राम्रोसँग जम्ने विश्वास गरिन्छ ।
डिभिजन वन कार्यालय मकवानपुरको आव २०७९–०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार बहुमूल्य प्रजाति दारको पकेट क्षेत्रको रुपमा विकास गर्दै लैजाने उद्देश्यले स्थानीय समुदायको सहभागितामा पकेट क्षेत्र बनाइएको हो । डिभिजन वन कार्यालय मकवानपुरको आव २०७८–०७९ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत बकैया–१२ को कोलखोप वन क्षेत्रमा बहुमूल्य प्रजाति दारको संरक्षण गर्न र बिउ बगैँचा निर्माण गरी नर्सरीमा बिरुवा उत्पादन गरी दारको वृक्षारोपण गरिएको थियो । त्यस्तै दारको २०० वटा रुखमा नम्बरिङ गरी बिउ बगैँचा निर्माण गरिएको छ भने बिउ बगैँचाबाट दारको बिउ सङ्कलन गरी डिभिजन वन कार्यालय मकवानपुर र राप्तीको नर्सरीमा बिरुवा उत्पादन गरी दारको वृक्षारोपण प्रवर्द्धन गर्ने काम गरिएको डिभिजन वन अधिकृत गौतमको भनाइ छ ।
यसैगरी यसको औषधीय महत्व पनि रहेको छ । यो प्रजातिको बोक्रा काटेको घाउबाट रक्तस्राव रोक्न र घाँउ चाँडै निको गराउनमा प्रयोग गरिन्छ । यसको बोक्रामा हुने चिप्लो पदार्थ सेल रोटी तथा कोदोको रोटी फुलाउनको लागि समेत प्रयोग गर्ने गरिन्छ भने छालामा फोका उठेमा सोको उपचारमा समेत स्थानीय समुदायहरुले यसको प्रयोग गर्ने गरेको पाईन्छ । त्यसै गरी यसको पातलाई कुटेर पेष्ट बनाई घाउमा र हाटखुट्टा भाचिएकोमा र मधुमेह रोगको परम्परागत औषधी उपचारमा प्रयोग गरिन्थ्यो तर अहिलेको आधुनिक औषधि पद्धतिमा यो चलन क्रमश कम हुदैछ । साथै यो कमजोर, भिरालो जमिन, सुख्खा क्षेत्रमा पनि सहज हुर्कने हुनाले क्षतिग्रस्त जमिन र भू–क्षयको पुनस्थापनामा निकै उपयोगी मानिन्छ ।
।
किसानले डालेघाँसका रुपमा प्रयोग गर्ने, ढिलो बढ्ने हुनाले किसानको कम रुची हुनाले नयाँ रोपणमा चासो कम हुँदा नयाँ विरुवा रुख उत्पादन हुन नसकेको हो । पछिल्लो समय सामुदायिक वनहरू सबैजसो साल लगायतका काठमा मात्र केन्द्रित हुँदा र सरकारी स्तरबाट पनि कम प्राथमिकतामा परेकाले दार अहिले हराउँदै गएको अवस्था छ । दार प्रजातिको संरक्षण, दिगो व्यवस्थापनको लागि बृहद अध्ययन अनुसन्धान, प्राकृतिक वासस्थानको संरक्षण, वन डढेलो र अतिक्रमण नियन्त्रण, निजी तथा कृषिवन प्रणालीको विकास, सामुदायिक वन, निजि जग्गामा किसानलाई दारको वृक्षारोपण, संरक्षणमा पालिका वा वन कार्यालय वा काष्ठमा आधारित उद्योग मार्फत अनुदानको समेत व्यवस्था, गर्दै समुहलाई दार संरक्षणमा उत्प्रेरित गर्न उप्रेरित गर्न सके यसको प्रवद्र्धन हुने विश्वास लिइएको छ ।
वन नियमावली, २०७९ बमोजिम दारलाई अन्य प्रजाति सरह संकलन उपयोग र विक्री वितरण गर्न सकिने व्यवस्था गरिएको छ । दार–दारगिठीको बोक्रा प्रति केजी १५ राजश्व लिइने उल्लेख छ । वन विभाग (२०७७) अनुसार यो प्रजाति समुन्द्र सतहबाट ३०० देखि १७०० मिटरको उचाईमा उदयपुर, धनकुटा, पाँचथर, इलाम, मकवानपुर, चितवन, नुवाकोटको त्रिशुली क्षेत्र, गोर्खा, तनहू पर्वतको काली गण्डकी किनार, पाल्पा, गुल्मी, दाङ्गको चुरे क्षेत्र, सल्यान, जाजरकोट, सुर्खेत, डोटी र डडेधुराको चुरे क्षेत्रमा दारका जङ्गलहरू रहेको डिभिजन वन कार्यालय मकवानपुरले दिएको जानकारीमा उल्लेख छ । गाेरखापत्रबाट साभार
प्रतिक्रिया दिनुहोस्