हेटौँडा । मकवानपुरको बकैया र भीमफेदी गाउँपालिकाको सिमानामा रहेको धार्मिक एवम् पर्यटकीय क्षेत्र लटारम्मेश्वर महादेव मन्दिरमा ओमकार भवन निर्माणका लागि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ लगाइएको छ ।

बागमती प्रदेश सरकारका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री बिमल ठकुरीले महायज्ञको उद्घाटन गर्नुहुँदै धार्मिक एवम् पर्यटकीय क्षेत्र लटारम्मेश्वरको विकासका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले लटारम्मेश्वर बागमती प्रदेशको गौरव रहेको बताउँदै त्यसलाई जोगाउने सबैको दायित्व रहेको स्पष्ट पारे ।

कार्यक्रममा बोल्दै बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले लटारम्मेश्वर क्षेत्रमा पुग्दा अदभुत अनुभुति हुनेगरेकाले पालिकाको तर्फबाट पनि त्यसको विकासका लागि आवश्यक सहयोग गर्न तयार रहेको बताए । उनले छिट्टै त्यस क्षेत्रको डिपिआर गर्ने तयारी भइरहेको जानकारी दिर्दै त्यहाँसम्म पुग्न ठाउँ ठाउँमा संघ र प्रदेश सरकारसँग मोनोरेल राख्ने योजना रहेको सुनाए ।

बकैया गाउँपालिका वडा नं. १२ का वडा अध्यक्ष ज्ञानेन्द्र बजगाईंले लटारम्मेश्वरको विकास गर्न वडाबाट पनि बजेट विनियोज गरेपनि भौगोलिक विकटताले संरचना निर्माण महङ्गो पर्न गएको बताए । उनले ओमकार भवन बनाउन सबै भक्तलाई सहयोग गर्न अनुरोध पनि गरे ।

ख्याति प्राप्त वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेलले कथावाचन गरिरहेका छन ।सुनमाया घले (माता) को संयोजनमा हेटौँडा उपमहानगरपालिका वडा नं. ४ स्थित पशुपति मन्दिरको सभाहलमा भइरहेको महायज्ञमा बिहान नित्य पुजा र बेलुका आरती हुनेछ । श्रीमद् भागवत सप्ताह ज्ञानमहायज्ञ मूल समारोह समिति र ओम लटारम्मेश्वर महादेव मन्दिर निर्माण तथा व्यवस्थापन समितिको आयोजनामा साउन १६ गतेदेखि सुरु भएको महायज्ञ २२ गतेसम्म चल्ने छ ।

उद्घाटन कार्यक्रममा बकैया गाउँपालिका वडा नं. ५ अध्यक्ष लक्ष्मी जिम्बा, वडा नं. ११ अध्यक्ष गोपाल बहादुर न्यासुर, समाजसेवी एवं धार्मिक व्यक्तित्व राजेश वाग्ले लगायत भक्तजनहरुको सहभागिता रहेको थियो ।

समुद्री सतहबाट एकहजार ८ सय ५६ मिटरको उचाइमा रहेको यो मन्दिरबाट देखिने मनोरम दृश्यले यहाँ धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको छ । यज्ञकुण्डमा हाम फालेर जलेकी सतीदेवीको मृत शरीर बोकेर महादेव त्रिलोक भ्रमण गर्दा सतीदेवीको लट्टा खसेको स्थानका रुपमा मकवानपुरमा लटारम्मेश्वर महादेवको उत्पत्ति भएको धार्मिक विश्वास छ ।

डब्लु डाँडाको थुम्कोमा महादेवको मन्दिर छ । थुम्कोमा पुगेपछि देखिने प्राकृतिक दृश्यहरूले पर्यटकलाई हिँडाइको थकान मेटाउँछ । डब्लु डाँडालाई छिनमै बादलले ढकमक्क ढाक्छ । छिनमै बादल फाटेर प्राकृतिक सुन्दरता देखिनु यो मन्दिरको अर्को विशेषता हो । कान्तिलोकपथको बाटो हुँदै हेटौँडाबाट दुइघण्टा र काठमाडौंबाट २ घण्टाको दुरीमा ठिंगनबाट खोरभन्ज्याङबाट माथिलागेपछि करिव डेढदेखि दुइ घण्टाको पैदलयात्रा पश्चात महादेवको दर्शन गर्न यहाँ पुग्न सकिन्छ ।