
हेटौैँडा । मनसुनजन्य विपद् व्यवस्थापनका लागि बागमती प्रदेशमा द्रुत प्रतिकार्य टिम गठन गरिएको छ । बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले बुधवारदेखि प्रदेशस्तरीय सडकमा बाढी पहिरोको अवरोध प्रतिकार्य टिम (द्रुत प्रतिकार्य टिम) गठन गरेको हो ।
यातायात पूर्वाधार निर्देशानालय हेटौँडाका निर्देशक पुष्कर प्रसाद पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय द्रुत प्रतिकार्य टिम गठन गरिएको हो । जस्को सदस्यहरूमा क्रमशः भौतिक पूर्वाधार विकास मन्त्रालयका सडक, सडकपुल तथा अन्य पूर्वाधार महाशाखा सिनियर डिभिजनल इन्जिनियर सुजन भण्डारी, विपद् फोकल पर्सन ज्यानेन्द्र प्रसाद पुन, यातायात पूर्वाधार निर्देशनालयका हरि प्रसाद ओझा र सम्बन्धित जिल्लाको पूर्वाधार विकास कार्यालयका कार्यालय प्रमुख सदस्य रहनेगरी दु्रत प्रतिकार्य टिम गठन गरिएको हो ।
अवरुद्ध भएका मुख्य प्रादेशिक सडकहरूको पहिचान गर्ने, सूचना सम्प्रेषण गर्ने, वैकल्पिक मार्ग पहिचान गर्ने, आकस्मिक रुपमा अवरुद्ध सडकहरू यथाशीघ्र छिटो सुचारु गर्ने, अन्तरनिकाय समन्वय गर्ने र कार्यालयगत रुपमा आकस्मिक मर्मत सम्भार शीर्षकमा विनियोजित बजेटबाट स्रोत व्यवस्थापन गर्ने लगायतका कार्य गर्ने उल्लेख छ ।
प्रादेशिक सडक यातायात गुरुयोजना अन्तर्गत रहेका मुख्य प्रदेश लोकमार्ग तथा प्रदेश मार्गहरू, सक्रिय मनसुनजन्य तथा अन्य प्राकृतिक विपद्का कारणबाट आपतकालीन आवागमन समेत अवरुद्ध हुने गरेकाले टिम गठन गरिएको बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री अमन कुमार मास्केले जानकारी दिए । केहीदिन अघि मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री मास्केले जनसरोकारको सवालमा सजग भएर काम गर्ने बताउँदै अनुसन्धानको रुपमा अगाडि बढेको बताए ।
वैकल्पिक पहुँचमार्ग पहिचान र सञ्चालन गर्न नसक्दा प्रदेशवासी सहितका जनसमुदायले सास्ती खेप्नुपरेको छ । पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव अमृत श्रेष्ठ, प्रवक्ता सुजन भण्डारी लगायतकाको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्