
हेटौँडा । वनस्पति अनुसन्धान केन्द्र मकवानपुरले भ्रमणवापत टिकटबाट ६ लाख ८८ हजार ७०५ रुपियाँ राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्ष २०८०–८१ मा केन्द्रले टिकट विक्रीबाट सो राजस्व रकम सङ्कलन गरेको हो ।
वनस्पति अनुसन्धान केन्द्र मकवानपुर अन्र्तगत रहेको वृन्दावन वनस्पति उद्यान हेटौँडाले गत आवमा ६ लाख २९ हजार ७५ रुपियाँ र पर्वतीय वनस्पति उद्यान दामनले ५९ हजार ६३० रुपियाँ राजस्व सङ्कल गरेको हो । आन्तरिक २६ हजार २१४ जना र विदेशी १३ जनाबाट उद्यान भ्रमण वापत सो राजस्व रकम सङ्कलन भएको केन्द्रका कार्यालय प्रमुख एवं वरिष्ठ वैज्ञानिक अधिकृत रघुराम पराजुलीले जानकारी दिए ।
उनका अनुसार सम्मानित वृक्षारोपण वापत प्रति विरुवा दुईहजार र शैक्षिक अध्ययन र भ्रमणमा आउने विद्यार्थीबाट प्रतिव्यक्ति दस रुपियाँ, १० वर्षमूनिकाबाट १५ रुपियाँ र १० वर्षमाथिकाबाट २५ रुपियाँ भ्रमण शुल्क र चलचित्र, म्युजिक भिडियो र विवाहको फोटोसुट वापतबाट पाँचसय रुपियाँ शुल्कबाट सो राजस्व रकम सङ्कलन भएको हो । वन नियमावली २०७९ को प्रावधान बमोजिम शुल्क तोकेर लिइएको हो ।
अघिल्लो आवको तुलनामा गत आवमा उद्यान भ्रमणमा आउने सङ्ख्या बढ्नुका साथै राजस्वमा पनि बढोत्तरी भएको हो । अघिल्लो आवमा तीन लाख राजस्व सङ्कलन भएको थियो भने यस आवमा बढेर करिव सात लाख हाराहारीमा पुगेको छ । चालु आवमा करिव १० लाख बढी राजस्व सङ्कलन हुने अनुमान कार्यालय प्रमुख पराजुलीको छ । यहाँ मकवानपुर, काठमाडौं, इलाम, महोत्तरी, चितवन, जुम्ला, दाङ, पोखरा, नवलपरासी, रूपन्देही, भैरवाह लगायतका क्षेत्रबाट अध्ययन अनुसन्धान र भ्रमणका लागि विद्यार्थी, सहकारी, समूह आउने गरेका छन् । हेटौँडा उपमहानगरपालिका वडा नं. १३ पदमपोखरीमा रहेको यस उद्यान ९६ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।
प्रतिक्रिया दिनुहोस्