
हेटौँडा । बागमती प्रदेशका मुख्य न्यायाधिवक्ता शुकदेव काफ्लेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बिहीबार प्रदेश प्रमुख कार्यालय हेटौँडामा नवनियुक्त मुख्य न्यायाधिवक्ता काफ्लेले शपथ ग्रहण गरेका हुन् ।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा र मुख्यमन्त्री बहादुरसिंह लामाको उपस्थितिमा मुख्य न्यायाधिवक्ता काफ्लेले शपथ ग्रहण गरेका हुन् । उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौलाले मुख्य न्यायाधिवक्ता काफ्लेलाई शपथ ग्रहण गराएका हुन् ।
गत भदौ २ गते प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम दोलखा तामाकोशी गाउँपालिका–३ का काफ्लेलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन् । मुख्यमन्त्री लामाको सिफारिसमा प्रदेश प्रमुख देवकोटाले काफ्लेलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका थिए ।
२५ वर्षदेखि कानुन व्यवसायीको रूपमा कार्य गर्दै आएका काफ्लेले यसअघि पूर्व कानुन तथा न्यायमन्त्री भीमबहादुर तामाङ र पूर्वमहिला तथा समाज कल्याण मन्त्री लीला कोइरालाको सल्लाहकार भएर समेत काम गरेका थिए ।
नेपाल बार एसोसिएसनको सदस्य रहनु भएको काफ्ले नेपाल बार एसोसिएसन र काठमाडौँ जिल्ला बारका विभिन्न समितिमा ससंलग्न भई काम गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्