हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले वीरगञ्जमा रहेको कृषि औजार कारखाना सञ्चालनका लागि सहयोगस्वरुप महावीर पुनको पुस्तक खरिद गरेको छ । उपमहानगरले पुनको अभियानमा सहयोग पुर्‍याउँदै पाँच लाख रुपैयाँ बराबरको ६ सय ६६ थान पुस्तक खरिद गरेको हो ।

पुस्तक बिक्री अभियान लिएर बिहीबार हेटौंडा आइपुगेका पुनको अभियानमा सहयोग पुर्‍याउने उद्देश्यले उपमहानगरले उनका पुस्तक खरिद गरेको मेयर मीनाकुमारी लामाले बताइन् । पुस्तक बिक्री अभियानमा २०२ दिनदेखि हिडिरहेका पुनले सबैको सहयोगबाट पुस्तकको बिक्री क्रम बढिरहेको बताए।

सुदुरपश्चिम प्रदेशबाट अभियान सुरु गरेका वैज्ञानिक पुनले लुम्बिनी, गण्डकी हुँदै वाग्मती प्रदेशको चितवन र हेटौंडामा पुस्तक बिक्री गरिरहेका छन् । हेटौंडामा अझै केही दिन बिक्री अभियान सञ्चालन गर्ने सोच रहेको उनले बताए । पुस्तक अभियानमा उपमहानगर आइपुगेका पुनले सरकारले काम लगाएर भुक्तानी नदिएपनि आफैँले कृषि औजार कारखाना सञ्चालनको तयारी गरेको बताए ।

पुनका अनुसार वीरगञ्जमा रहेको कारखानाबाट अहिले साना किसिमका औजारको उत्पादन थालिएको छ । आउँदो ६ महिनाभित्र बजारमा जाने गरी ८/९ वटा कृषि औजारको उत्पादन भइरहेको उनले बताए । उनले अभियानको क्रममा अहिलेसम्म देशभर १ लाख २५ हजार पुस्तक बिक्री गरिसकेको बताए ।