हेटौंडा । मकवानपुरको बकैया खोलाले बगाएर बेपत्ता भएकी महिलाको सोमबार सोमबार शव फेला परेको छ । बारा कोल्हवी नगरपालिका-२ स्थित बकैया खोलाको किनारमा बकैया गाउँपालिका-६ की ३६ वर्षीया नानुमाया तितुङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

बारा निजगढबाट घर फर्कने क्रममा आइतबार खोला तर्ने क्रममा बकैया खोलाले बगाएर नानुमाया बेपत्ता भृकी थिइन् । आइतबारदेखिनै आफन्त, स्थानीयवासी र प्रहरीले खोजतलास गरिरहेका थिए ।

नानुमायाका छोरा छिरिङ तितुङ वैदेशिक रोजगारीका लागि विदेश जान लागेका थिए। शनिबार श्रीमान् र छोराको साथमा गाडी चढेर उनी निजगढ गएकी थिइन्।

श्रीमान् राजकुमार तितुङ र छोरासँगै शनिबार निजगढमै बास बसेका थिए। आफन्तका बास बसेकी नानुमायाले आइतबार बिहानै छोरालाई बिदाइ गरिन्। राजकुमार भने जहाज चढाउन छोरोसँगै काठमाडौं जाने तयारीमा जुटे।

नानुमाया हिँडेरै घर फर्किइन्। लामो बाटो छिचोलेर गाउँ आइपुग्नै लागेकी उनलाई बकैया खोलाले बगायो।

उता राजकुमार पनि छोरो लिएर काठमाडौं जान नभ्याउँदै कुकुरको टोकाइबाट घाइते भएका छन्। बिहान सबेरै कुकुरले टोकेपछि निजगढमै अल्मलिएका राजकुमारले श्रीमतीलाई खोलाले बगाएको खबर सुने । सोमबार राति साउदी जान हिँडेका छिरिङ आमालाई बगाएको खबरले गाउँ फर्केका थिए ।

Visited 107 times, 1 visit(s) today