
हेटौंडा । कर समायोजनको लागि विशेष नगरसभाको मिति तोक्न आज बोलाइएको हेटौंडा उपमहानगरको कार्यपालिका बैठक नेपाली कांग्रेसले बहिष्कार गरेको छ ।
नेपाली कांग्रेसबाट निर्वाचित उपमेयर राजेश बानियाँसहित ८ जना वडाध्यक्षले बहिष्कार गरेपछि मेयर मीनाकुमारी लामाले कार्यपालिका बैठक स्थगित गरेकी छन् । उपमेयर बानियाँ राजश्व परामर्श समितिको संयोजकसमेत हुन् । २९ सदस्यीय कार्यपालिकामा आज बिहीबार बिहान ८ बजेलाई तय भएको बैठकमा १६ जना सदस्य उपस्थित थिए ।
नेपाली कांग्रेसबाट निर्वाचित एक वडा अध्यक्षले पार्टीमा कर समायोजनको विषयमा छलफल जारी रहेकाले आज बोलाइएको बैठकमा उपस्थित नभएको जानकारी दिए । करको दर घटाउने विषयमा आवश्यक छलफलबाट मात्रै टुंगिने उनको भनाइ छ ।
बहुमत पुग्दा पनि मेयर लामाले एक पक्षीय रूपमा बैठक स्थगित गरेको भन्दै विशेष नगरसभा माग गरेका नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्षहरूले आपत्ति जनाएका छन् । हेटौंडा-४ का वडाध्यक्ष नवीन सिग्देलले उपमेयरसँग छलफल गरेर मात्रै अर्को बैठक तय गर्ने बताएर मेयरले एकपक्षीय तरिकाले बैठक स्थगित गरेको बताए ।
प्रतिक्रिया दिनुहोस्