हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नं. १३ स्थित लखनथापा पार्कमा वातावरणीय अपराध रोकथाम तथा नियन्त्रण सम्बन्धि बिहीवार एक दिवसीय सचेतना तालिम भएको छ ।
इनोभेटिभ भिजन प्रालि काठमाडौंको आयोजना एवम् वातावरणीय सचेतनाको लागि एकीकृत विकास हेटौँडाको समन्वय तथा अमेरिकी सरकारको युएसएआइडीको सहयोगमा एक दिवसिय तालिम कार्यक्रम भएको हो ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानले प्रमुख अतिथीका रुपमा बोल्दै वन, वन्यजन्तुका बिषयमा बनेका कानुनका बारेमा सबैले जानकारी लिनुपर्ने बताउनुभयो । उहाँले कतिपय अवस्थामा बनेका कानुनका बिषयमा आम जनतालाई थाहा नहुँदा पनि समस्या हुने गरेको बताउनुभयो । उहाँले मानव र वन्यजन्तुको द्वन्द्वका कारण हुने घटनामा मानवीय र धनजनको क्षति हुनेगरेकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले सबै मिलेर वनजङ्गलको संरक्षण गर्नुपर्नेमा जोड पनि दिनुभयो ।
राष्ट्रिय निकुञ्जका मध्यवर्ती क्षेत्रका स्थानीय समुदायका लागि वातावरणीय अपराध सम्बन्धि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । वातावरणीय अपराध रोक्न समुदायको भूमिका महत्वपूर्ण हुने भएकाले वातावरणीय अपराधबारे समुदायलाइ सचेतनामूलक प्रशिक्षण दिइएको थियोे ।
कार्यक्रममा वातावरणीय अपराध रोकथाम र नियन्त्रणमा स्थानीय समुदायको भूमिका र वातावरणीय अपराध नियन्त्रणका विषयमा प्रशासन सापकोटा र नेपालमा वातावरणीय अपराध तथा तिनको नियन्त्रण एवं रोकथामका लागि हालसम्म भएका प्रयास र नेपालमा वातावरणीय अपराधलाई नियन्त्रण गर्ने मुख्य कानुनहरूका विषयमा सोल्जर यादवले सहजिकरण गरेका थिए ।
वातावरणीय सचेतनाको लागि एकीकृत विकास हेटौँडा–६ का कोषाध्यक्ष रिपु प्रसाद गौतम लगायतको सहभागिता रहेको कार्यक्रममा स्थानीय ५६ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ । संस्थाले यसअघि १० स्थानमा पाँचसय बढीलाई वातावरणीय अपराध रोकथाम सम्बन्धि तालिम प्रदान गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्