हेटौंडा । बस्तीको बिचमा रहेको शिवम् सिमेन्टका कारण जनताले सास्ती खेप्नु परेको छ । उद्योगबाट निस्केको धुलो, धुवाँ, ध्वनी प्रदुषणका कारण जनताले सास्ती खेप्नु परेको हो ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ मा अवस्थित सिमेन्ट उद्योगका कारण यहाँका स्थानीयवासीले सास्ती खेप्नु परेको हो । उद्योगबाट निस्केको धुलो, धुवा र ध्वनी प्रदुषणका कारण यहाँका स्थानीय, बिद्यालयका बिद्यार्थी र कृषकहरु पनि प्रत्यक्ष मारमा परेका छन ।

उद्योग संचालन गर्न मानव बस्तीको बिचमा दिइएको स्वीकृतिले यहाँ धेरै प्रश्न जन्माउने गरेको यहाँका बुद्धिजिवीहरुको भनाइ छ । सिमेन्ट उद्योग घर नजिक भएकाले धुलो खाएर बस्नु परेको स्थानीयको गुनासो छ । दिउँसोलाई धुलो छोड्दैन, जब रात पर्‍यो अनि धुलो छोड्ने हो उद्योगले यहाँकी स्थानीय बृद्धले गुनासो गरिन् । धुलोका कारण सागपात खानपाइदैन, कपडा पनि पुरै फोहोर हुन्छ, बृद्धाले गुनासो पोखिन् ।

सिमेन्ट उद्योगका कारण लक्ष्मी निम्न माध्यामिक बिद्यालयमा पढ्ने बिद्यार्थीहरु प्रत्यक्ष मारमा परेको बिद्यालयका प्रध्यानाध्यापकले बताए । सिमेन्ट उद्योग र बिद्यालयको दुरी ११३ मिटरको रहेको स्मरण गराउँदै उनले उद्योगका कारण शैक्षिक क्षति भएको बताए । उद्योगबाट निस्केको ध्वनी, धुलो र धुवाँको कारण बिद्यालयमा बिद्यार्थीको संख्या पनि घटेकोे तथ्य उनले बताए । बस्तीको लागि यो सिमेन्ट उद्योग अभिषाप भएको छ, उनले थपे बिद्यालय नजिक स्थापन भएको उद्योगले शैक्षिक क्षेत्रमा क्षति पुर्‍याएको छ । उद्योगबाट निस्केको धुलो र धुवाँको कारण बिद्यार्थीहरुलाई स्वास्थ्यमा गम्भीर समस्या पनि देखिएको उनले बताए ।

सिमेन्ट उद्योग हेटौंडा १६ मा स्थापना भएको छ, तर त्यसको सबै प्रभाव हेटौंडा १७ का स्थानीय भएको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष भैरवबहादुर राइले बताए । धुवा, धुलो र ध्वनीका कारण वडा नम्बर १७ प्रत्यक्ष प्रभावित भएको उनले बताए । ध्वनीका कारण राती सुत्नदेखि धुलोका कारण अन्नवाली उब्जाउन पनि समस्या भएको उनले बताए । उद्योग संग पटक पटक वार्ता भएपनि समस्या ज्यूकोत्यू रहेकोे उनले गुनासो गरे । यो स्थान उद्योग राख्ने ठाउँ होइन, बस्तीको माझमा रहेको सिमेन्ट उद्योगले बिनास निम्त्याएको छ, उनले थपे ।

सिमित वर्गले आर्थिक फाइदा लुटिरहेको शिवम् सिमेन्टका कारण असिमित वर्ग र जनता भने प्रत्यक्ष त्यसको दीर्घकालीन सिकार बनेका छन ।