
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले देशमा शान्ति सुरक्षा कायम गर्न र विपदको समयमा नेपाल प्रहरीको भूमिका महत्त्वपूर्ण हुने गरेको बताएका छन । ६९ औँ प्रहरी दिवस–२०८१ को अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले बुधबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अग्रपङ्तिमा रहेर नेपाल प्रहरीले नागरिकको सुरक्षा गरिरहेको बताए ।
उनले नेपाल प्रहरीको स्थापनाकालदेखि नै राष्ट्र र जनताका लागि हरेक तवरबाट खट्दै आएको गौरवमय इतिहास रहेको स्मरण गर्दै देशको शान्ति सुरक्षा र अमनचैन कायम गर्ने जिम्मेवारी पनि पूरा गरिरहेको बताए । विपदबाट उद्धार, लागूपदार्थ रोकथाम र अपराध अनुसन्धानका लागि नेपाल प्रहरी निरन्तर खट्दै आएको प्रशंसा गर्दै मुख्यमन्त्री लामाले देशमा भएको राजनीतिक परिवर्तन, शान्ति सुरक्षा कायम गर्ने र २०७२ सालको विकाशकारी महाभूकम्पमा समेत निर्वाह गरेको भूमिका सम्मानयोग्य रहेको बताए ।
प्रसङ्ग जोड्दै बाढी पहिरोका कारण बागमती प्रदेशमा आएको विपदका समयमा नेपाल प्रहरीले जनताको उद्धारका लागि घटनास्थलमा पुगेर जनताका लागि पुर्याएको सहायताप्रति पनि धन्यवाद दिए । प्रहरीका कारण नै आम नागरिकले ढुक्क भएर चाडपर्व मनाउन सकेको बताउँदै चाडपर्वमा कार्यस्थलमै खटिने प्रहरीको जति प्रशंसा गरे पनि कम हुने उनले तर्क गरे।
‘‘राज्यले नागरिकप्रति निर्वाह गर्नुपर्ने मुख्य जिम्मेवारीमध्ये नागरिकको जीउधनकै रक्षा गर्नु प्रमुख जिम्मेवारी हो, उक्त जिम्मेवारी राज्यको तर्फबाट नेपाल प्रहरीले निर्वाह गर्दै आएको छ,’’ मुख्यमन्त्री लामाले भने। नागरिकले जुनसुकै बखत राज्यको खाँचो महसुस गर्दा सबैभन्दा पहिलो राज्यले देखाउने उपस्थिति नेपाल प्रहरीको रहेको उनको भनाइ छ ।
दिनरात नभनी खटिने प्रहरी, कर्मचारीको वास्तविक मिहिनेत अनुसार राज्यले प्रयाप्त सेवा सुविधा दिन नसकेको स्वीकार्दै राज्यको अन्य कर्मचारीको तुलनामा नेपाल प्रहरीको खटाई अधिक रहेको मुख्यमन्त्री लामाको विश्लेषण छ । न्यून स्रोत र साधन हुँदा पनि नेपाल प्रहरीले शान्ति सुरक्षा कायम गर्न खटिरहेको उनको भनाइ छ । उनले बागमती प्रदेशमा प्रहरी सङ्गठनलाई स्रोत साधन र दक्ष जनशक्ति युक्त बनाएर लैजान प्रदेश सरकार सदैव तयार रहेको बताए ।
कार्यक्रममा बोल्दै बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले नागरिकको सेवामा सधैँ अग्रभागमा रहेर नेपाल प्रहरीले सेवा दिइरहेको बताए । विगतदेखि चुनौतीको सामना गर्दै आएको नेपाल प्रहरीको त्याग, बलिदान सबैका लागि प्रेरणाको स्रोत बनिरहेको बताए । हरेक परिर्वतनको साक्षी नेपाल प्रहरी भएको जिकिर गर्दै मन्त्री लामिछानेले प्रतिकूल अवस्थामा पनि नागरिक सेवामा प्रहरी लागिरहेकोप्रति उनले प्रशंसा गरे ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले स्वागत गरेकाे कार्यक्रममा बागमती प्रदेश प्रहरी गणले नृत्य प्रस्तुत गरेको थियो । सोही अवसरमा सेवानिवृत्त, उत्कृष्ट कार्यगर्ने प्रहरी, प्रहरी दिवसको अवसरमा आयोजित खेलकुद प्रतियोगिताका उत्कृष्ट तथा विजेता र उपविजेतालाई मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) र बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रहरी नायब महानिरीक्षक कृष्ण हरि शर्माले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए । गाेरखापत्रबाट साभार
प्रतिक्रिया दिनुहोस्