
हेटाैँडा। उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अहिलेको अवस्थामा सुधार ल्याउन सरकारले प्रयास गरिरहेको बताएका छन । नेपाली कांग्रेस थाहा नगर कार्यसमितिले शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गदै उनले यस्तो बताएका हुन । उपप्रधानमन्त्री सिंहले राजनीतिक स्थीरताको जगमा विकास निर्माण र आर्थिक समृद्धिमार्फत जनताको अवस्था सुधार्न सरकारले काम गरिरहेको बताए ।
पछिल्लो निर्वाचनपछि बनेका सत्ता गठबन्धन लामो समय नटिक्दा जनतामा बढेको निराशा चिर्नका लागि अहिलेको सत्तागठबन्धन बनेको पनि उनले प्रष्ट पारे । राजनीतिक स्थीरता र स्थायीत्वका लागि अहिलेको सरकार बनेको र सरकारले नागरिकलाई केन्द्रमा राखेर काम गरिरहेको उनले बताए ।
सडकमार्ग मार्फत थाहा नगरपालिका पुग्ने क्रममा उपप्रधानमन्त्री सिंहले लौहपुरूष गणेशमान सिंहले शिलान्यास गरेकाे चन्द्रागिरी चित्लाङ सडकको अवलोकन पनि गरे । सडक निर्माण कार्य सुरू भएको लामो समयसम्म पनि सम्पन्न नभएको भन्दै उनले चन्द्रागिरी चित्लाङ सडक निर्माण कार्य छिट्टै सम्पन्न गर्न पहल गर्ने बताए ।
उनले निर्माण कार्यमा ढिलाई गर्न नहुने र विकासका काममा सबै मिल्नुपर्नेमा जोड दिए । ‘‘यो राजधानीसँग जोड्ने सबभन्दा छोटो मार्ग मात्र नभएर बाग्मति प्रदेशको राजधानी जोड्ने मार्ग पनि भएको कारणले गर्दा यसको आकर्षण बेग्लै किसिमको हुन्छ भन्ने लागेको छ,’’ उपप्रधानमन्त्री सिंहले भने ।
उनले विकासका लागि जनप्रतिनिधिको भूमिका मुख्य रहेपनि संघ, प्रदेश र स्थानीय तहमा जनप्रतिनिधिसँगे सबैको साथ जरूरी हुने पनि बताए । चुनावका क्रममा कुनै दलबाट उमेदवार बनेपनि जितेपछिजनप्रतिनिधिले आफ्नो कार्यकालभर जनतालाई केन्द्रविन्दुमा राखेर जनसरोकारका काम गर्नुपर्नेमा जोड दिए ।
‘‘जनप्रतिनिधिलाई राम्रो काम गराउनका लागि स्थानीय वासिन्दाको पनि महत्त्वपूर्ण भूमिका रहन्छ । यो भएन, त्यो भएन भन्ने अधिकार पनि नागरिकलाई छ । तर, त्यसो भनेर बसेर मात्र भएन,’’ उपप्रधानमन्त्री सिंहले भने, ‘‘राम्रो काम गराउनका लागि के गर्नुपर्याे भन्ने कुरा आम जनताले पनि आफ्नो जिम्मेवारीबोध गराउनसक्नुपर्छ । सबै मिल्नुपर्छ ।’’ उनले चन्द्रागिरी चित्लाङ सडक बने सबै नागरिकले सुविधा पाउने भन्दै विकास निर्माणको काम सबैको साझा विषय भएको बताए ।
त्यस्तै कार्यक्रममा नेपाली कांग्रेस बागमति प्रदेश सभापति समेत र रहेका बागमती प्रदेश सांसद इन्द्र बानियाँले मकवानपुरका जनताको अवस्था सुधार्न र मकवानपुरलाई विकासको गतिमा अघि बढाउनका लागि कुनै कसर बाँकी नराख्ने बताए ।
प्रतिक्रिया दिनुहोस्