हेटाैँडा । मकवानपुरको बकैया गाउँपालिका र चितवनको पुष्पाञ्जली हस्पिटल प्रा.लि.बिच उपचार सहुलियत करारनामामा सम्झौता भएको छ । शुक्रबार गाउँपालिकामा पुष्पाञ्जली हस्पिटल प्रा.लि.का प्रबन्ध–निर्देशक सुजनराज अधिकारी र बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले सम्झौतापत्रमा हस्तक्षर गरेका छन् ।

बकैयाका गाउँपालिकावासीलाई स्वास्थ्य परीक्षण तथा उपचार गर्दा हस्पिटलबाट प्रवाह हुने सेवामा २५ प्रतिशतसम्म छुट सुविधा दिने, अस्पतालको सेवा जस्तैः बेडचार्ज, ल्याब टेस्ट, इसिजी, इको, भिडिओ एक्सरे, एक्सरे, सिटिस्क्यानलगायतमा २५ प्रतिशत, अप्रेसन र क्याबिनमा १५ प्रतिशत छुट दिने र औषधिमा सात प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ ।

गाउँपालिकाका जनताको स्वास्थ्य उपचार सहुलियतका लागि अध्यक्ष लामिछानेले उक्त कार्य गर्न आफू लागिपरेको बताए । सम्झौताको क्रममा गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले पालिकामा रहेका अति विपन्न, गरिब, असहाय मानिसका लागि निःशुल्क उपचार गर्नसमेत आग्रह गरेका थिए ।

सम्झौताका क्रममा पुष्पाञ्जली हस्पिटल सामाजिक सेवा एकाइ प्रमुख केदारप्रसाद सुवेदी, बकैया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठ, गाउँपालिकाका सामाजिक विकास महाशाखा प्रमुख फटिकरमण प्याकुरेल, स्वास्थ्य संयोजक रमेश फुयाँललगायतको सहभागिता रहेको थियो ।

Visited 16 times, 1 visit(s) today